२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिन्धुपाल्चोकमा पुनःनिर्माण सुस्त (भिडियो)


0
Shares

भूकम्प गएको तीन वर्ष हुँदा पनि पुनःनिर्माणको काम भने अझै सोचेअनुरुप हुन नसकेको पीडितहरु बताउँछन् ।

२०७२ वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पले देशभर ८ हजार ७९० सर्वसाधारणले ज्यान गुमाए । देशभर २२ हजार ३०० घाइते भए ।

सिन्धुपाल्चोकमामात्र ३५ सय ७० जनाको मृत्यु भयो । घाइतेको संख्या १५ सयभन्दामाथि छ ।

भूकम्पपछि विभिन्न निकायबाट सहयोग नभएको पनि होइन । तर, पुनःनिर्माण जुन गतिमा हुनुपर्दथ्यो, त्यो भने हुन सकेको छैन ।

विभिन्न दातृनिकायले अहिले सिन्धुपाल्चोकमा पुनःनिर्माणको काम गरिरहेका छन् । त्यस्तैमध्येको एक हो, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ।

जाइका नेपालले पुनःनिर्माणका लागि नेपाल सरकारलाई ३२ बिलियन जापानी येन सहयोग गरेको छ ।

भूकम्पबाट अतिप्रभावित गोरखा, काठमाडौं र सिन्धुपाल्चोकमा जाइकाले सहयोग गरेको छ । गोरखामा पुल, काठमाडौंमा परोपकार प्रसुतिगृह र वीर अस्पताल पुनःनिर्माण तथा सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा काम गरिरहेको छ ।

गोरखा, धादिङ, नुवाकोट, रसुुवा, ललितपुर र मकवानपुर गरी जाइकाले ६ जिल्लाका २३७ विद्यालय पुनःनिर्माण गरिरहेको जनाएको छ ।

गोरखामा १३ र सिन्धुपाल्चोकमा ९ गरी २२ ओटा सरकारी कार्यालय निर्माणकोक्रममा रहेकामा १२ भवन बनाइसकिएको जाइकाले जनाएको छ ।

भूकम्प गएलगत्तै प्रभावित भएका सिन्धुपाल्चोकका कृषकलाई धान, मकैका बीऊ–विजन, कृषक हातेपुस्तक वितरणलगायत सहायता गरेको थियो ।

यसबाट सिन्धुपाल्चोकका झन्डै तीन हजारभन्दा बढी कृषक लाभान्वित भएको वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले जानकारी दिए ।

चौतारा–साधाचौकगढी नगरपालिकामा जाइकाले ‘कम्युनिटी मोबिलाइजेसन प्रोगाम’ बनाएर धमाधम काम गरिरहेको छ ।

साधाचौकगढी नगरपालिकामा ४७ आवास पुनःनिर्माणको लक्ष्य लिइएकोमा हालसम्म २७ घर बनाइएको र बाँकी २२ घर बन्नेक्रममा छ ।

सरकारले भूकम्पपीडितका लागि दिने पहिलो, दोस्रो र तेस्रो किस्ताअन्तर्गत् दोस्रो किस्ता पाइसकेको प्रभावितले बताएका छन् ।

तर, सामान्य घर बनाउन पनि सात लाख रुपैयाँसम्म लाग्ने हुँदा बाँकी पैसा ऋण गरेर ल्याउनुपरेको उनीहरु सुनाउँछन् । धमाधम घर बन्न थालेकामा भने उनीहरु खुसी छन् ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले भने हालसम्म २६ प्रतिशतमात्र भर पुनःनिर्माण भएको जनाएको छ ।

भिडियो हेर्नुहोस्