२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आर्मीको पहिलो जित, च्यासल पराजित


0
Shares

काठमाडौं, मंसिर १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा आर्मीले च्यासल युथ क्लबलाई १–० गोलले पराजित गर्दै अंकतालिकामा महत्वपूर्ण ३ अंक जोडेको छ ।

आर्मीको जितमा एकमात्र गोल खेलको २७औं मिनेटमा विकास खवासले गरेका थिए ।

राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर र घरेलु क्लब फुटबलका सर्वाधिक सफल स्ट्राइकर सन्तोष साहुखलले च्यासलको अग्रपंक्ति सम्हाले पनि गोल गर्न सकेनन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको १४औं मिनेटमा च्यासलका अमीर श्रेष्ठले गरेको कडा प्रहार आर्मीका विकेश कुथूले रोकेका थिए ।

पहिलो हाफको अन्तिममा आर्मीका भरत खवास गोल गर्न चुके । उनले डी बक्स क्षेत्रबाट हानेको बल पोस्टको केही इन्चमाथिबाट बाहिरिएको थियो ।

४९औं मिनेटमा सन्तोष साहुखलको फ्रिकिक आर्मीका गोलकिपर विकेश कुथूले उत्कृष्ट बचाउ गरेका थिए ।

६३औं मिनेटमा आर्मीका दिनेश हेम्जनले खाली पोस्टमा गोल गर्न सकेनन् । गोलकपिर ‘बिट’ भएको अवस्थामा उनले प्रहार गरेको बल च्यासलका डिफेन्डर देवेन्द्र तामाङले गोललाइनबाट रोकेका थिए ।

लिगमा आर्मीको यो पहिलो जित हो । उद्घाटन खेलमा न्यूरोड टिम (एनआरटी)सँग २–२ गोलको बराबरी खेलेको आर्मीले दुई खेलबाट ४ अंक जोडेको छ । १ अंक जोडेको च्यासलको यो पहिलो हार हो ।

खेलमा आर्मीका गोलकिपर विकेश कुथू ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

मंसिर २ गते मच्छिन्द्र क्लब र नेपाल पुसिल क्लबबीच पहिलो तथा ब्रिगेड ब्वाइज क्लब र थ्रीस्टार क्लबबीच दोस्रो खेल हुनेछ ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । रासस