१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


आरोप–प्रत्यारोप राम्रो होइन : श्रेष्ठ, पुनर्जीवन दिन्छ : शर्मा (भिडियो)


0
Shares

केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि केही दिन स्थगित भएको बैठक वैशाख ७ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा निरन्तर जारी छ ।

निर्वाचनमा भोग्नुपरेको पराजयको समीक्षा र भावी कार्ययोजना तय गर्न बसेको कांग्रेस बैठक दुई पक्षबीच आरोप–प्रत्यारोपमै सीमित छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवामाथि खनिएको छ भने देउवा पक्ष आफ्नो बचाउमा केन्द्रित छ ।

पार्टी सभापति देउवाकै कारण चुनावमा पार्टी पराजित हुन पुगेको आरोप लगाउँदै पौडेल पक्ष पराजयको जिम्मा सभापतिले नै लिनुपर्ने अडानमा छ ।

तर, सभापति देउवा पक्ष भने निर्वाचनमा भोगेको हारको जिम्मा लिने पक्षमा छैन ।

सभापति देउवा पक्ष टिकट वितरणलगायत हरेक कुरामा भाग खोज्ने तर दोष सभापतिलाईमात्र दिएर पौडेल पक्षले दोहोर चरित्र प्रस्तुत् गरेको भन्दै प्रतिवाद गरिरहेको छ ।

चुनावी समीक्षा र आगामी रणनीति तय गर्न बसेको बैठक आरोप–प्रत्यारोपमा केन्द्रित हुनु पार्टीको हितमा नभएको बताउँछन्, केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ ।

यसअघि, गत फागुन १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि वरिष्ठ नेता पौडेलले निर्वाचनमा नेतृत्वकै कारण पराजय भोग्नुपरेको जिकिर गर्दै सभापति देउवालाई लिखित पत्र दिएका थिए ।

समीक्षा बैठकमा आ–आफ्ना धारणा राख्नु स्वाभाविक भएको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने जारी बैठकले पार्टीलाई पुर्नजीवन दिनेगरी ठोस कार्ययोजना ल्याउने दावी गरे ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीलाई पुर्नजीवन दिने भन्दै मुख्य गरी युवा नेताहरुले नयाँ प्रस्ताव ल्याएका छन् ।

बैठकमा युवा नेता गगन थापाको नेतृत्वमा ७ जना केन्द्रीय सदस्यहरुले पार्टी पुर्नजीवनका लागि भन्दै संयुक्त प्रस्ताव पेस गरेका छन् ।

यस्तै, पार्टी प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले पनि बैठकमा पार्टी सुदृढीकरणका लागि भन्दै १३ बुँदे ‘रोडम्याप’ प्रस्तुत् गरेका छन् ।

भिडियो हेर्नुहोस्