काठमाडौं, बैशाख १४ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता भएको छ ।
दुबै नेताले पहिलो चरणको वार्ता सम्पन्न गरेका छन् । एक दशकभन्दा बढी समयपछि उत्तर र दक्षिण कोरियाली नेताले दुई देशबीच पहिलो शिखर बैठक गरेका हुन । दिउँसोको खानापछि उनीहरुबीच फेरि वार्ता हुनेछ ।
वार्ता थाल्दै दुबै नेताले शिखर वार्ता गर्ने कदमप्रति एकअर्काको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
वार्ता सुरु गर्दै दक्षिण कोरियाली राष्ट्रपति मूनले एउटा दह्रो सहमतिको अपेक्षा गरेको बताए ।
नेता किम सैनिकरेखा पारगर्दै शान्तिक्षेत्रमा वार्ताका लागि आउनु नै शान्तिको प्रतीक हो भन्दै मूनले यसले विभाजनको रेखा मेटिने विश्वास ब्यक्त गरे ।
यस्तै नेता किमले भने वार्ताबाट राम्रो परिणाम निकाल्न आफू खुल्ला, इमान्दार र उदार रहेको बचन दिए ।
निशस्त्रीकरण गरिएको शान्तिक्षेत्र पानमुनजोमको दक्षिणतर्फको भूभागमा बनाइएको भवनमा दुई नेताले वार्ता गरेका हुन । दुई नेताले भेट गर्दा निकै हौसलापूर्ण भावका साथ हात मिलाएका थिए ।
वार्ता थाल्नुअघि गेष्ट बुकमा किमले अब एक नयाँ इतिहासको शुरु हुने भन्दै शान्तिका लागि यो दिन इतिहासको शुरुवाती बिन्दू हुने उल्लेख गरेका छन् ।
सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जङ उन पहिलो उत्तर कोरियाली नेता बनेका छन् ।
दुबै नेतालाई परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो भने त्यसक्रममा दुई देशको राष्ट्रिय गान पनि बजाइयो ।
दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले दुई देशबीच शिखर बैठक हुनुअघि नाकामा स्थानीय समय अनुसार बिहान साढे ९ बजे किमलाई स्वागत गरेका थिए ।
स्वागत गर्दै मूनले किमलाई तपाईँलाई भेट्न पाउँदा म खुशी छु भनेका थिए । शिखर वार्ताका लागि किम मिलिटरी डिमार्केशन लाइन पार गर्दै आइपुगेका हुन ।
उत्तर कोरियाले आणविक हतियार छोड्न गरेको संकेतका विषयमा ऐतिहासिक वार्ता केन्द्रित रहेको बताइएको छ ।
उत्तर कोरियाले परमाणु कार्यक्रम स्थगित गर्ने घोषणा गरेपछि कोरियाली प्रायद्विपमा शान्तिको सम्भावना बढ्दै गएको छ ।
यता अमेरिकाले दुई कोरियाबीचको शिखर वार्तालाई नजिकबाट नियालिरहेका भन्दै यस वार्ताले कोरियाली प्रायद्विपमा शान्ति र समृद्धीको सम्भावना नजिक्याएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।
उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच पनि शिखर सम्मेलनको तयारी भैरहेको छ ।
निकै अनपेक्षित घटना मानिएको शिखर बैठक भए बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतालाई भेटेको पहिलो घटना हुनेछ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्