
काठमाडौं, वैशाख १४ । विश्व शिक्षक संगठनका प्रतिनिधिहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा गरेका छन् ।
शुक्रबार दाहाल निवास खुमलटारमै पुगेर विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीले भेट गर्दै दाहाल आफ्ना लागि प्रेरणाको स्रोत र आदर्श व्यक्तित्व भएको बताएका हुन् ।
सो अवसरमा दाहालले नेपालको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताए ।
अध्यक्ष दाहालले निरंकुश व्यवस्था विरुद्धका विभिन्न आन्दोलन र १० वर्षे जनयुद्धमा पनि नेपाली शिक्षकहरुको ठूलो त्याग र बलिदान भएको बताए । नेपाल अब राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको बाटोतर्फ लम्किएको उनको भनाइ थियो ।
विश्व शिक्षक संगठनले आगामी सेप्टेम्बर महिनामा नेपालमा १९ औं विश्व सम्मेलन गर्ने भएको छ । सम्मेलनको तयारी बैठकको सिलसिलामा नेपालमा भेला भएका विश्व शिक्षक संगठनका प्रतिनिधिहरुले अध्यक्ष दाहाललाई भेट गरेका हुन् ।
दाहालले विश्व शिक्षक संगठनको सम्मेलन नेपालमा गर्ने कुराले आफूलाई अत्यन्त खुसी लागेको बताए ।
आफू शिक्षक पृष्ठभूमिबाट आएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो पार्टीका अधिकांश नेताहरु पनि शिक्षक पृष्ठभूमिबाटै आउनुभएको छ ।’
विश्व शिक्षक संगठनकी अध्यक्ष मफुजा खानमले नेपालमा शिक्षकहरुको संघर्ष दुनियाँका लागि गौरवको विषय भएको बताइन् । उनले दाहाललाई भनिन्, ‘हामी सम्पूर्ण शिक्षकहरुका लागि तपाई आदर्श व्यक्तित्व र प्रेरणाको स्रोत हो ।’
अध्यक्ष दाहालले देखाएको सद्भावप्रति उनले आभारसमेत प्रकट गरिन् ।
साम्राज्यवाद विरोधी शिक्षकहरुको उक्त संगठनका ६ जना प्रतिनिधि भेटघाटमा सहभागी थिए । जसमा १ जना नेपालका, ३ जना भारतका र २ जना बंगलादेशका प्रतिनिधि थिए ।
भेटमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिक्षकहरुको पनि प्रतिनिधित्व थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठन विश्व शिक्षक संगठनमा आवद्ध शिक्षक संगठन हो ।
प्रतिक्रिया दिनुहोस्