सरकार संघीयताविरोधी गतिविधिमा, संविधान स्वीकार गरिसकेका छैनौं : यादव « Imagekhabar – Online News Portal of Nepal


सरकार संघीयताविरोधी गतिविधिमा, संविधान स्वीकार गरिसकेका छैनौं : यादव


0
Shares

मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई जनकपुरमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष यादवले आफूहरु संघीयतालाई संस्थागत गर्दै संविधान संशोधनका लागि सरकारलाई समर्थन गरे पनि सरकार ठीक त्यसकोविपरीत कार्यमा लागेको आरोप लगाए ।

निर्वाचनमा भाग लिएकै भरमा आफूहरुले संविधान स्वीकारिसकेको भ्रम नपाल्न ठूला दललाई सचेत गराउँदै अध्यक्ष यादवले सबैलाई स्वीकार्य हुनेगरी संविधान संशोधन नभएसम्म मुलुकमा राजनीतिक स्थायित्व आउन नसक्ने विचार व्यक्त गरे ।

शिक्षा र स्वास्थ्य प्रदेशस्तरमा हुनुपर्ने बताउँदै अध्यक्ष यादवले यसका लागि प्रदेश सरकारलाई पहल गर्न आग्रहसमेत गरे ।

कार्यक्रममा प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संघीयता ल्याउन स्वास्थ्यकर्मीले खेलेको भूमिकाको प्रशंसा गर्दै स्वास्थ्यकर्मीको न्यायोचित मागका साथै पहिचान, सम्मान र अधिकारका लागि प्रदेश सरकार तत्पर रहने बताए ।

उनले प्रदेश सरकारलाई कमजोर बनाइ स्थानीय सरकारलाई बढी बोझ दिएर संघीयतालाई नै असफल बनाउने षडयन्त्र भइरहे पनि प्रदेश नम्बर–२ को सरकार र यहाँका जनताले त्यस्ता षडयन्त्रलाई सफल हुन नदिने बताए ।

स्वास्थ्यकर्मी फोरमका राष्ट्रिय अध्यक्ष बालकिशोरप्रसाद यादवको अध्यक्षतामा भएको महाधिवेशनको उद्घाटनसत्रमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, संघीय सांसदहरु प्रदीप यादव, उमाशंकर अरगरिया, डा. सुरेन्द्र यादव, प्रदेशसभा सदस्य रामअशिष यादव, बौद्धिक पेसाकर्मी महासंघका उपाध्यक्ष जितेन्द्र यादवसहितका वक्ताले शुभकामना मन्तव्य राखेका थिए । रासस