२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पौडेलले देउवालाई भने–‘तपाइँलाई पुज्ने कि गणेशमानलाई ?’


0
Shares

पौडेलले फागुन १३ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत् गरेको पत्रमा सभापति देउवालाई लक्षित गरिएको एउटा अंश छ–‘भोगको गिनिजबुकमा नाम लेखाउन खोज्दा मान्छेले कस्तो नजरले हेरेका छन् ?’

यसैलाई समातेर संस्थापनपक्षीय सदस्यहरूले आक्रोश व्यक्त गरेका थिए । त्यसैको जवाफमा पौडेलले देउवाले प्रधानमन्त्री बनेर गिनिजबुकमा नाम लेखाउन खोज्दा कांग्रेस कमजोर भएको बताए ।

आफ्नै नेतृत्वमा चुनावमा जाँदा पार्टी पराजित भएको कारण देखाएर तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला २०५१ सालमा संसदीय दलको नेता नबनेको उदाहरण दिँदै पौडेलले देउवाले त्यसो गर्न नमानेको दाबी गरे ।

देउवा वरिष्ठ नेता बन्दा उनैले उठाएको ‘एक व्यक्ति एक पद’को माग अहिले पौडेलले उठाए ।

‘पहिला तपाइँले नै एक व्यक्ति एक पदको कुरा उठाउनुभएको हो । आफूलाई पर्दा उठाउने तर पाउँदाचाहिँ नछाड्ने ?’ पौडेलको भनाइ थियो–‘भोगको राजनीतिले मान्छेलाई महान् बनाउँदैन । त्यागले महान् बनाउँछ ।’

विधानविपरीत गठन भएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिलाई स्वीकार गरेकामा उनले आत्मआलोचना गरे ।

विधानको व्यवस्थाभन्दा बढी सदस्य संख्या राखेर देउवाले यी दुवै समिति गठन गरेका थिए । त्यतिबेला पौडेलले विरोध गरेनन् । निर्वाचनमा पार्टी पराजित भएपछि उनले यो विषय उठाएका हुन् ।

‘मैले समितिमा सिनियरबाट राख्नुहोस् भनेको हो, विधानले तोकेभन्दा बढी सदस्य राख्नु भनेको होइन’–उनको भनाइ थियो–‘तर शेरबहादुरजीले आफ्ना मान्छे अटाउनका लागि बढी सदस्य राखिदिनुभयो ।’

पौडेलपक्षले यी दुवै समिति विघटन हुनुपर्ने माग गरेको छ । तर, देउवा विघटनको पक्षमा छैनन् ।

पौडेलले जेठ मसान्तभित्र महासमिति बैठक र वैशाख मसान्तभित्र जिल्ला सभापतिको भेला आयोजना गर्न प्रस्ताव राखेका छन् ।

पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले महासमिति बैठकले विधान संशोधन गरेपछि अग्रिम महाधिवेशनमा जानुपर्ने माग उठाएका कारण देउवा महासमिति बैठक नै ढिला गर्ने तयारीमा रहेको निकटस्थहरू बताउँछन् ।

यसअघि, जेठभित्रै महासमिति बैठक डाक्ने तयारी गरिएपनि पछिल्लोपटक देउवा असोजमा महासमिति बैठक बोलाउनुपर्ने पक्षमा देखिएका छन् । तर, पौडेल र सिटौला पक्षको चर्को दबाबका कारण साउनभित्र महासमिति बैठक गर्ने सम्भावना बढेको देउवानिकट एक सदस्यले बताए ।

निर्वाचन समीक्षा गर्ने मुख्य एजेन्डामा छलफल गर्न चैत ९ देखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक शनिबार सम्पन्न हुँदैछ ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीकाअनुसार केन्द्रीय कार्यसमितिले गर्ने निर्णयमा सहमति जुटाउन शुक्रबार बैठक सम्पन्न नगरिएको हो ।

सभापति देउवाले शुक्रबार नै बैठक स्थगित गर्ने तयारी गरेका थिए । त्यहीअनुसार महामन्त्री शशांक कोइरालाले निर्णयका लागि बैठकमा प्रस्तुत् गर्ने प्रस्तावसमेत तयार बनाएका थिए ।

बैठकले महासमिति बैठकको मिति र स्थान, विधान संशोधन तथा परिमार्जन मस्यौदा समिति गठन, चुनावको समीक्षा, सरकारलाई हेर्ने दृष्टिकोण, मित्रराष्ट्रबीचको सम्बन्ध, संविधान संशोधनमा भइरहेको अलमल, न्यायालय र निजी क्षेत्रका विषयमा पार्टीको औपचारिक धारणा आउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कान्तिपुर दैनिकबाट साभार ।