२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेस सभापति देउवा पदाधिकारी मनोनयन गर्ने तयारीमा


0
Shares

काठमाडौं, वैशाख १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन सकिएको दुई वर्षभन्दा लामो समयपछि पदाधिकारी मनोनयन गर्ने तयारी गरेका छन् ।

पदाधिकारी मनोनयनका लागि सभापति देउवाले सोमबार निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक बोलाएका छन् । बैठकमा सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने र बैठकले पारित गर्ने तयारी रहेको बताइएको छ ।

कांग्रेसको विधानमा महाधिवेशन भएको २ महिनाभित्र पदाधिकारीलगायत सवै निकायमा मनोनयन गरिसक्नुपर्ने व्यवस्था भए पनि देउवाले २६ महिनापछि बल्ल पदाधिकारी मनोनयनको तयारी गरेका हुन् ।

सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधीलाई मनोनयन गर्ने तयारी गरेका छन् । नेताहरु गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदारले पनि उपसभापति पाउनुपर्ने दावी गरिरहे पनि सभापति देउवाले निधीलाई उपसभापतिका रुपमा प्रस्ताव गर्ने तयारी गरेका छन् ।

यस्तै महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्कामध्ये एकजनालाई नियुक्तिको प्रस्ताव गर्ने तयारी गरेको बताइएको छ । दुई जनामध्ये एक जनालाई महामन्त्री र एक जनालाई पार्टी संगठन विभाग प्रमुखको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ ।

यस्तै, सहमहामन्त्रीमा डा. प्रकाशशरण महत, रमेश रिजाल, मानबहादुर विकमध्ये एकजनालाई अघि सार्ने तयारी देउवाको छ । कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

यसैबीच, सभापति देउवाले पदाधिकारीमा आफू निकटका नेतालाई नियुक्त गर्ने तयारी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता भने बैठकमा नजाने भएका छन् । देउवाले बहुमतका आधारमा आफू अनुकुलको निर्णय गर्नसक्ने भएपछि पौडेल पक्षले बैठक बहिष्कार गरेर विरोध जनाउने भएको हो ।

यसअघि गत चैत ९ गतेदेखि चलेको कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार मात्रै सकिएको थियो । तीनै तहको निर्वाचनमा पार्टी भोगेको हारको जिम्मेवारी कांग्रेस केन्द्रीय कार्यसमितिले लिने निर्णय गर्दै बैठक सकिएको थियो ।