
काठमाडौं, वैशाख १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट एकता परीक्षाको चरणमा रहेको टिप्पणी गरेका छन् ।
मंगलबार राजधानीमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको नवर्निमित भवन उद्घाटन गर्दै उनले परीक्षा सुरु भएको र यसको नतिजा आउन केही समय लाग्ने बताए । अहिलेको आवश्यकता कम्युनिष्ट एकता भए पनि यसका लागि गृहकार्य पुरा नभएको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले मुलुकलाई नयाँ ढंगले अगाडि बढाउने जिम्मेवारी माओवादी केन्द्रको काँधमा आएको भन्दै आफूहरुले समृद्धि र आर्थिक विकासलाई प्राथमिकतामा राखेको बताए । उनले समाजवादी आन्दोलन पूरा नभएकाले त्यसका लागि जुट्न पनि आग्रह गरे ।
अन्तिम समयसम्म नयाँ समाज निर्माणको संकल्प लिएको भन्दै अध्यक्ष दाहालले आफूमाथि धेरै आरोप–प्रत्यारोप हुने गरे पनि त्यसको सामना गर्दै अगाडि बढ्ने बताए ।
परिर्वतनबाट प्राप्त उपलब्धि संस्थागत गर्ने चुनौती बढेको भन्दै उनले त्यसका लागि सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
एक करोड रुपैयाँको लागतमा निर्माण भएको भवन चार तल्लाको छ ।
प्रतिक्रिया दिनुहोस्