
तर, कतिपय अवस्थामा सामाजिक सञ्जाल गलपासोसमेत सावित हुने गरेको छ ।
सामाजिक सञ्जालको सही प्रयोगले मानिसलाई सहज बनाएको छ । सामाजिक सञ्जाललाई आफ्ना अनुभूति पोख्नेमात्र हैन, विचार विनिमय र ज्ञान आर्जनको माध्यम पनि बनाउन सकिन्छ ।
तर, पछिल्लो समयमा यही सामाजिक सञ्जालको माध्यम बनाएर सामाजिक हिंसा र आपराधिक घटनासमेत हुन थालेको पाइएको छ ।
नेपालमा पनि पछिल्लो समयमा ‘साइबर क्राइम’ अर्थात् विद्युतीय अपराधका घटनाहरु निकै बढ्न थालेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ को हालसम्म देशभरिबाट ८८७ ओटा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता भएका छन् । तीमध्ये साइबर क्राइम भएको ठहर गर्दै ३४ जनाविरुद्ध मुद्दा चलाइएको महाशाखाले जनाएको छ ।
फेसबुक वा अन्य सामाजिक सञ्जालमार्फत् धम्क्याउने, गाली–गलौज गर्ने, अश्लील सामग्री पठाउनेजस्ता अनैतिक कार्य गर्नेविरुद्ध साइबर क्राइम अर्थात् विद्युतीय कारोबार ऐनअन्तर्गत्को सजायको माग गर्दै मुद्दा चलाइने गरेको छ ।
साइबर क्राइमको प्रकृति हेरेर १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षदेखि ५ वर्षसम्मको सजाय हुनसक्ने व्यवस्था रहेको छ ।
महानगरीय प्रहरी परिसरले नयाँनयाँ शैलीमा साइबर क्राइम हुन थालेको जनाएको छ ।
प्रहरी अधिकारीहरुकाअनुसार, केटा र केटीको सहमतिमा सामाजिक सञ्जालमार्फत् आफ्ना अश्लील तस्वीर आदान–प्रदान गर्ने र त्यही तस्वीरमार्फत् ‘ब्ल्याकमेलिङ’ गरेर यौनशोषण गर्ने तथा रकम असुल्नेसम्मका घटना भएको पाइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा आर्थिक वर्ष २०७४/७५ को हालसम्म ७५ ओटा साइबर क्राइमसम्ब्न्धी उजुरी दर्ता भएको र ती सबैमाथि मुद्दा चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
सामाजिक सञ्जालको प्रयोग बढ्दै गएपछि यससँग सम्बन्धित अपराधका घटना पनि बढ्दै गएका छन् । यस्ता घटनामा किशोर–किशोरी बढी संलग्न हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
सामाजिक सञ्जालमार्फत् हुने अपराध न्यूनीकरण गर्न विशेष रणनीतिसमेत प्रहरीले बनाउन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्