Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


प्रदेश नम्बर ४ को विनियोजन विधेयक बहुमतले पारित, के शिर्षकमा कति बजेट ?


0
Shares

पोखरा, बैशाख २४ । प्रदेश नम्बर ४ को सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट पारित भएको छ ।

प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

अर्थमन्त्रीले विधेयक पेश गरेपछि विपक्षी दल नेपाली कांग्रेस र नयाँ शक्तिले असहमति जनाउँदै शुक्रबार बैठक अबरुद्ध पारे पनि आन्तरिक छलफलबाट हिजो बैठक सुचारु गरी विधेयक बहुमतबाट पारित गरिएको हो । बजेटमाथि विपक्षी दल नेपाली कांग्रेसले सरकारलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

कांग्रेसले प्रदेशसभा सचिवालयलगायतको प्लाजा निर्माणका लागि ६ करोड विनियोजन गरेपछि पुनः १ करोड ६२ लाख रुपैयाँ अस्थायी भवनमा खर्च गर्नु अनावश्यक भएको, आगामी वर्षको बजेट तर्जुमा गर्न २५ लाख रुपैयाँ छुट्याउनु अवैज्ञानिक भएको, साहसिक खेलको अध्ययन गर्न विनियोजित २० लाख, जियोलोजिकल पार्क निर्माणमा डिपिआर तयार गर्न विनियोजित ५० लाख, कानुन निर्माणमा विनियोजित २ करोड ६२ लाख, सम्भाब्यता अध्ययनका लागि अपनाईने कार्यविधि अस्पष्ट भएकोलगायतका विषयमा असन्तुष्टि राखेको थियो ।

विनियोजन विधेयकमाथी उठेका जिज्ञासा र प्रश्नलाई सम्बोधन गर्दै अर्थमन्त्री गुरुङले प्रतिपक्ष सदनप्रति जिम्मेवार नभएको आरोप लगाए ।

उनले सरकारले विनियोजन गरेको बजेट र कार्यक्रम अस्वाभाविक नभएको भन्दै खर्च हुन नसकेको रकम सञ्चित कोषमा जम्मा हुने विश्वास दिलाए ।

त्यसैगरी बैठकले प्रदेश राजधानी तोक्ने र नामांकनका लागि सुझाव संकलन गर्न गठित समितिको म्याद थप गरेको छ ।