
-सागर महत/ईमेज
अर्घाखाँची । अर्घाखाँचीमा चितुवाले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ ।
शृङ्खलाबद्ध रुपमा चितुवाले गाउँबस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय निकै आतंकित बनेका छन् ।
त्यतिमात्र होइन कतिपय अभिभावकले त आफ्ना बालबालिकालाई विद्यालयसमेत पठाउन छाडेका छन् ।
गत पाँच वर्षमा अर्घाखाँचीका विभिन्न स्थानमा चितुवाको आक्रमण परी १४ बालबालिकाको ज्यान गएको छ भने ६ जना बालबालिका उपचारपछि निको भएका छन् ।
कहिले घरमा खेलिरहेको अवस्थामा त कहिले कतै हिडिरहेको अवस्थामा चितुवाले आतंक मच्चाउन थालेपछि धेरैजना त्रसित छन् ।
जिल्लामा चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाँचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानका बासिन्दा बढी त्रसित छन् ।
यस वर्ष मात्रै ३ जना बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ ।
गत शनिबार भुमिकास्थान नगरपालिका ४ का मदन घिमिरेका ४ वर्षीय छोरा आर्यन घिमिरेको मृत्यु पछिल्लो घटना हो ।
प्रशासनिक निकायले सुरक्षा दिन नसक्दा नाती गुमाउनुपरेको मृतकका हजुरबुबाको गुनासो छ ।
प्रशासनिक निकायले सुरक्षा दिन नसक्दा छोरा गुमाउनु परेको बाबु मदन घिमिरेको गुनासो छ ।
चितुवा नियन्त्रणका लागि बेलाबखत प्रहरी पनि परिचालन गरिएको छ । तर पनि आक्रमणको शृंखला रोकिएको छैन ।
केही दिनअघि चितुवाले बालबालिकालाई आक्रमण गरेपछी प्रहरीले एउटा चितुवा पासोमा पारेको थियो र बाटैमा त्यसको मृत्यु भएको थियो ।
मरेको चितुवा नरभक्षी भए नभएको निश्चित गर्न डिएनए परीक्षणका लागि काठमाडौँ लगिएको छ । तर स्थानीयमा चितुवाको डर भने उत्तिकै छ ।
चितुवा आक्रमणबाट १४ जना अभिभावकले आफ्ना छोरा र छोरी गुमाउँदा समेत जिल्ला प्रशासनको ध्यान नपुगेको स्थानीयको गुनासो देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्