
बासुदेव बर्मा/ईमेज:
कपिलबस्तु, बैशाख २६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले आर्थिक बिपन्नता र भौगोलिक बिकटताले जटिल अवस्थामा रहेको नेपालले संघीयता थेग्न नसक्ने बताएका छन् ।
उनले मुलुकको आर्थिक अवस्थालाई ध्यान नदिई लादिएको संघीयताले चरम आर्थिक संकट निम्त्याउने जिकिर समेत गरेका छन् ।
राष्ट्रिय जनमोर्चा कपिलबस्तुको छैठौं जिल्ला सम्मेलनलाई मंगलबार तौलिहवामा संवोधन गर्दै वर्तमान संघीय व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुन नसक्ने समेत बताए ।
‘यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुनै सक्दैनन्’, अध्यक्ष केसीले भने, ‘जनताका आधारभुत आवश्यकता परिपुर्तिका लागी देशमा अझै ठूलो क्रान्ति गर्नुपर्ने आवश्यकता छ ।’
राष्ट्रिय जनमोर्चा संघीय प्रणालीको विरोधी नभएको अध्यक्ष केसीले बताए ।
‘संघीयता एउटा प्रणाली हो । हामी त्यो प्रणालीकै विरोधी होइनौं । बिकासिल मुलुकमा त्यो प्रणाली सफल भएको छ, तर नेपालमा त्यो सफल हुन सक्दैन’, उनले भने–‘संघीयता नेपालको आर्थिक अवस्थाले धान्न सक्दैन । संघीयता नेपाली जनताको आवश्यकता र माग दुवै होइन ।’
नेपालमा राष्ट्रिय अखण्डता र जातीय सद्भावलाई तहसनहस पार्ने बद्नियतबाट जवरजस्ती रुपमा लादिएको संघीयता भएको उनले बताए ।
फरक प्रसंगमा केसीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालमा नागरिक अभिनन्दन र स्वागत गर्नु दासताको पराकाष्ठ हुने बताए ।
उनले नेपालका ठूला भनिने दल र नेताहमा दास मनोवृत्ति रहेकै कारण देशले प्रगति गर्न नसकेको उनले बताए ।
कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका केन्द्रीय अध्यक्ष बद्री आलमले मुलुकको बिबिधतालाई तोड्ने कार्य संघीय सरकारले गरेको बताए । सम्मेलनको बन्द शत्र बुधबार हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्