दोसाँधमा देवकोटाः भक्कानिन्छन् नयाँ जीवन पाएकाहरु (भिडियो) • Image Khabar Image Khabar


दोसाँधमा देवकोटाः भक्कानिन्छन् नयाँ जीवन पाएकाहरु (भिडियो)


Imagekhabar
२६ बैशाख २०७५, बुधबार २०:१७

दोसाँधमा देवकोटाः भक्कानिन्छन् नयाँ जीवन पाएकाहरु (भिडियो)

उपचारकाक्रममा हजारौंसँग जोडिएका डा. देवकोटालाई भेट्न आउनेहरु अधिकांश उनको विशेषज्ञ क्षमताबाट नयाँ जीवन पाएकाहरु छन् ।

कालिकोटकी ४४ वर्षीया मालती शाहीको टाउकोको ट्युमरको शल्यक्रिया डा. उपेन्द्र देवकोटाले ८ पटकसम्म गरेका थिए ।

सन् २००२ मा ४५ दिनकी छोरी छाडेर मालती उपचारका लागि डा. देवकोटाकहाँ पुगिन् । उनलाई बाँच्ने आशा पलायो र डा. देवकोटाको उपचारबाट उनको रोग निको पनि भयो ।

तर, आज तिनै डाक्टरलाई जीवन–मरणको दोसाँधमा देख्दा मालतीले आफूलाई सम्हाल्न सकिनन् ।

मालतीका श्रीमान् नन्दबहादुर सिंह पनि डा. देवकोटालाई भेटेर आएपछि निकै भक्कानिए ।

आफ्नी श्रीमतीलाई बचाउने डा. देवकोटा आफैं यस्तो अवस्थामा हुँदा नन्दबहादरले डा. देवकोटाको स्वास्थ्यलाभको कामनासमेत गरे ।

डा. देवकोटाबाट उपचार गराएर निको भएका बिरामीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि बुधबार डा. देवकोटालाई भेट्न अस्पताल पुगेका थिए । उनले पनि डा. देवकोटाको स्वास्थ्यलाभको कामना गरे ।

३७ वर्ष लामो समय चिकित्सा पेसामा बिताइसकेका डा. देवकोटाले हालसम्म ३४ हजार व्यक्तिको शल्यक्रिया गरिसकेका छन् भने ७ लाख ५० हजारभन्दा बढी बिरामीको उपचार गरेका छन् ।

स्वास्थ्यमा असहजता भएपछि डा. देवकोटा २०७४ साल मंसिर ५ गते उपचार गराउन बेलायत गएका थिए । बेलायतको किंग्स कलेज हस्पिटलमा ६ महिना उपचार गरेर नेपाल फर्किए ।

गत माघ ११ गतेदेखि किमोथेरापी दिन सुरु गरिएका देवकाटालाई तीनपटकसम्म किमो चढाइएको जनाइएको छ ।

तर, स्वास्थ्यमा अपेक्षाअनुसारको सुधार हुन नसकेपछि उनी नेपाल फर्केर न्यूरो अस्पतालमै उपचाररत् छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्