२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘लुपस’रोगः पुरुषभन्दा महिलामा हुने सम्भावना बढी, यी हुन् लक्षण (भिडियो)


0
Shares

पुरुषको तुलनामा महिलामा ९ गुणा बढी हुने लुपसरोगबाट विशेष गरी १५ देखि ४५ वर्ष उमेर समूहका व्यक्ति प्रभावित छन् ।

हाम्रो शरीरमा हुने रोग निरोधक शक्तिले शरीरलाई हानि गर्ने किटाणु र खराब कोषलाई नस्ट गर्छ । तर, त्यही रोग निरोधक शक्तिले जब आफ्नै शरीरको स्वस्थ कोषलाई असर गर्न थाल्छ, त्यसलाई ‘लुपसरोग’ भनिन्छ ।

शरीरमा उत्पादन हुने हर्मोनमा फेरबदल हुँदा त्यसले शरीरमा विभिन्न किसिमको असर पुर्‍याउँछ ।

मुख्यतः तौल घट्ने, कमजोर हुँदै जाने, स्वस्थ रक्तकोषिकाहरु नस्ट हुँदै जाने, जोर्नी दुख्ने, छालामा असर गर्ने, मुखमा पुतली आकारको दाग आउने, आँखा सुक्खा वा रातो हुने, फोक्सो र मुटुमा पानी जम्ने यसका लक्षण हुन् ।

लुपसरोगले विशेषगरी गर्भवती महिलालाई असर गर्छ । तीनपटकसम्म बच्चा खेर गयो र एक्कासि ६ महिनाको बच्चा खेर गएको छ भने पनि त्यो लुपसरोगको कारणले हुनसक्ने बाथरोग विशेषज्ञ डा. विनीत वैद्यले बताउँछन् ।

बाथरोगको प्रकार मानिने लुपस लाग्न नदिने उपाय भने छैन । पुरुषको तुलनामा महिलामा बढी हर्मोन फेरबदल हुने कारणले यो रोगबाट बढी महिला प्रभावित हुने गरेका छन् ।

प्रजनन् उमेर समूहको महिलामा बढी हुने सम्भावना भएकाले लक्षण देखिनेबितिकै चिकित्सकको सम्पर्कमा गएमा केही रोगथाम गर्नसकिने बाथरोग विशेषज्ञहरु बताउँछन् ।

गर्भवती महिलामा लुपसरोग लागेमा औषधि सेवन गर्न भने छाड्न हुँदैन । लुपसरोगको औषधि नियमित सेवन गर्ने हो भने निरोगी बच्चा जन्माउन पनि सकिने डा. वैद्यले बताए ।

लुपसरोगले विशेषगरी मिर्गौलामा बढी असर गर्छ भने छालामा विभिन्न समस्या देखापर्ने भएकाले ख्याल राख्न छालारोग विशेषज्ञ डा. शेली राजभण्डारीको सुझाव छ ।

लुपस भएको बिरामीले सन्तुलित भोजन गर्ने, क्याल्सियम, भिटामिन ‘डी’युक्त खानेकुरा खानुपर्दछ भने नियमित व्यायाम गर्दा स्वस्थ जीवन बिताउन सकिन्छ ।

चुरोट–खैनीको सेवन नगर्ने र भाइरलको इन्फेक्सनबाट हुने रोगबाट बच्च सकियो भने पनि लुपसरोगको जोखिमबाट बच्चसकिने चिकित्सकहरु बताउँछन् ।

भिडियो हेर्नुहोस्