२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राप्रपा प्रजातान्त्रिकले प्रजातान्त्रिक पक्षधरको गठबन्धन बनाउने


0
Shares

पार्टी केन्द्रीय कार्यसमितिको निर्णय बिहीबार सार्वजनिक गर्दै अध्यक्ष राणाले दीगो शान्ति, स्थायित्व र समृद्धिका लागि प्रजातान्त्रिक गठबन्धन निर्माण गर्न पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

यातायात क्षेत्रमा विद्यमान एकाधिकार अन्त्यका लागि सरकारले हालै गरेको निर्णय र कार्यान्वयनका लागि भएको प्रयासको सराहना गर्दै उनले संगठित क्षेत्रमा पूर्णप्रतिस्पर्धात्मक बजार तथा असंगठित र पिछडिएका क्षेत्रमा राज्यले संरक्षण दिने लोककल्याणकारी राज्यका अवधारणालाई पार्टीले अंगीकार गर्ने निर्णय गरेको जानकारी दिए ।

यही वैशाख २५ गतेदेखि सुरु भइ बिहीबार सम्पन्न बैठकले राष्ट्रियता, धर्म, संस्कृति, परम्परागत संस्थाको संरक्षण गर्दै समावेशी समानुपातिक विकासका लागि निरन्तरतासहितको रुपान्तरण अर्थात् संवद्र्धनवाद र आर्थिक समुन्नति कायम गर्न उदारवादलाई अवलम्बन गर्ने निर्णय गरेको छ ।

संगठनको सुदृढीकरणका लागि मुलुकको संघीय संरचनानुरुप पार्टीको संगठनलाई समायोजन गर्दै वडासम्म संगठन सशक्त पार्ने निर्णय बैठकले गरेको छ ।

अध्यक्ष राणाले प्रस्तुत् गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीत्रय राजाराम श्रेष्ठले प्रस्तुत् गरेको सचिवालयसम्बन्धी, सुनीलबहादुर थापाको निर्वाचन समीक्षा र ध्रुवबहादुर प्रधानको संगठन प्रतिवेदन तथा कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक प्रतिवेदन बैठकले परिमार्जनसहित पारित गरेको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए । रासस