मोदीको अभिनन्दनअघि नाकाबन्दीलाई यसरी सम्झदैंछन् नेपाली जनताले • Image Khabar Image Khabar


मोदीको अभिनन्दनअघि नाकाबन्दीलाई यसरी सम्झदैंछन् नेपाली जनताले


Imagekhabar
२८ बैशाख २०७५, शुक्रबार ०८:५४

मोदीको अभिनन्दनअघि नाकाबन्दीलाई यसरी सम्झदैंछन् नेपाली जनताले

रोमन आचार्य/
काठमाडौं, वैशाख २८ । धार्मिक भ्रमणको संज्ञा दिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि आज जनकपुर आउँदैछन् ।

तेस्रो पटक नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीले इतिहासमै पहिलो पटक प्रादेशिक राजनधानीबाट भ्रमण सुरु गर्न लागेका हुन् । मोदीले आफ्नो दुई दिने औपचारिक भ्रमण प्रदेश नम्बर २ को राजधानी जनकपुरकबाट सुरु गर्दैछन् ।

भ्रमणको सुरुवातमा मोदीले जानकी मन्दिरमा पूजा गर्ने र मोदीका निम्ति प्रदेश नम्बर २ को सरकारले जनकपुरको ऐतिहासिक बाह्र विघा मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई भन्दा पनि उनलाई प्रदान गर्न लागिएको नागरिक अभिनन्दनको भने प्रदेश २ का राजनीतिक दलका प्रतिनिधि र सत्तासीन दलबाहेक अन्य सवैले बिरोध गरिरहेका छन् । कुटनीतिक तवरबाट मोदीको नेपाल भ्रमणलाई महत्व दिइए पनि जनकपुर र काठमाडौंमा गर्न लागिएको नागरिक अभिनन्दनलाई भने नेपाली जनताले आजभन्दा तीन वर्ष अगाडि भारतले नेपालमा गरेको नाकाबन्दीसँग जोडेर व्यापक विरोध गरिरहेका छन् ।
सामाजिक सञ्जालहरुमा यसको प्रयोगकर्ताहरुले मोदीलाई प्रदान गर्न लागिएको नागरिक अभिनन्दनलाई तत्कालिन ओली सरकारले नाकाबन्दीको समयमा लिएको अडान र अहिलेको ओली सरकारको हरकतलाई ओलीको लम्पसारवाद र चुनाव जित्ने राजनीतिक एजेण्डाका रुपमा मानिसहरुले व्याख्या गरेका छन् । ट्वीटरका प्रयोगकर्ताहरुले भने ह्यासट्याग ‘ब्लकेट वाज क्राइम मिष्टर मोदी’ अभियान नै चलाएका छन् ।

मोदीलाई प्रदान गर्न लागिएको नागरिक अभिनन्दनलाई सत्ताबाहिर रहेका दलका नेताहरुले पनि विरोध गरिरहेका छन् ।

२०७२ सालमा विनासकारी भूकम्प गएसँगै भारतले एकाएक अघोषित नाकाबन्दी ग¥यो । अषोघित नाकाबन्दी ६ महिनासम्म चल्यो । नाकाबन्दी पश्चात् नेपालमा भारत तथा भारतीय बन्दरगाह हुँदै तेस्रो मुलुकबाट आउने सामाग्रीहरु नेपालतर्फ आउन सकेनन् भने नेपालका उत्पादनहरु पनि भारतीय बाटो गरेर भारत तथा तेस्रो मुलुकसम्म पुग्न सकेन । यसले नेपालीहरुमा विनाशकारी भूकम्पले दिएको घाउमा नुनचुक छर्कियो । नेपालीहरुले कयौं रात भोकै बिताए । मोदी सरकारले दुःखमा परेको नेपालीलाई सहयोग गर्नुको सट्टा नाकाबन्दी लगाएर नेपाली जनताको मन रुवायो ।

मोदीको अभिनन्दनअघि नाकाबन्दीलाई यसरी सम्झदैंछन् नेपाली जनताले

आसन्न भ्रमणमा मोदीलाई प्रदान गर्न लागिएको नागरिक अभिनन्दनको औचित्य सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले खोज्नुको कारण यहीँ हो । उनीहरुको माग छ– संसदमा गएर मोदीले नाकाबन्दी गरेकोमा क्षमायाचना गर्नै पर्छ ।

तर राजनीतिक तहमा भने मोदीको भ्रमण नेताहरुलाई चाडजस्तो बनेर लागेको छ । नाकाबन्दीको समयमा राष्ट्रियताको विषयमा दह्रो भएर खुट्टा टेकेका र भारतको अगाडि लम्पसार बन्दिनँ भनेर भाषण गर्दै हिँडेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार यतिबेला उनै मोदीलाई नागरीक अभिनन्दन दिन कम्मर कसेर लागीपरेको छ ।

प्रदेश नम्बर २ को सरकारले मोदी आउने दिन आफ्नो प्रदेशमा सार्वजनिक विदाको घोषणा गरिसकेको छ भने २० वर्षमा नदेखिएको जनकपुर क्षेत्रको रौनक १० दिनमा एकाएक परिवर्तन भएको छ ।

प्रदेशका २ का मुख्यमन्त्री लालबाबु राउतले त झन मोदीलाई स्वागत गर्न घर घरबाट अनिवार्य उपस्थितिको उर्दि नै जारी गरिसके । हैरानको विषय त के हो भने वर्षौंसम्म जनताले माग गर्दा कालोपत्रे हुन नसकेको बाटो मोदी आउने भएपछि एक रातमा कालोपत्रे भयो । त्यसो भए मोदीको महत्व प्रदेश २ को सरकारका लागि भगवान राम र सीताभन्दा माथि भएको हो ? प्रश्न यहाँ छ ।

पछिल्लो दश दिनमा जनकपुरले काँचुली नै फे¥यो । प्रदेश नम्बर २ को सरकारले सारा काम थाँती राखेर मोदी गान गाउन यसैको तयारीमा लागेको छ । मधेस आन्दोलनको उद्गम स्थल, नाकाबन्दीको समयमा मधेसी दलले संविधानको विरोध गर्न गरेको आन्दोलन र विगतका घटना हेर्दा पनि २ नम्बर प्रदेश भारतको नेपालमा राजनीति गर्ने थलो हो ।

भारतीय प्रधानमन्त्री भएपश्चात् मोदीको नेपाल भ्रमण यो पहिलो भने हैन । उनी यसअघि २०७१ साल साउनमा पहिलोपटक नेपाल आएका थिए । त्यसपश्चात सोही वर्षको मंसिरमा सार्क सम्मेलनका समयमा पनि मोदी नेपाल आएका थिए ।
पहिलो भ्रमणमा मोदीले नेपालको संसदमा सम्बोधन गर्न भ्याएका थिए । भनिन्छ, सार्क सम्मेलनमा नेपाल आएका समयमा पनि मोदीलाई नागरीक अभिनन्दनको कुरा नभएको हैन, तर त्यो कार्य सफल भने हुन सकेन ।

सामाजिक सञ्जालमा भएको विरोधले मोदीको नागरिक अभिनन्दनमा कत्तिको प्रभाव पार्छ त्यो भने हेर्न बाँकी छ । नागरिक अभिनन्दन ग्रहण गर्नेले गरेको राम्रो कार्यको प्रशंसा गर्नु पर्ने हुन्छ । अब अभिनन्दन दिने हाम्रो देशको सरकारले तीन वर्ष अघिको नाकाबन्दीलाई कसरी सम्झन्छ, हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्