
प्रज्ञा तिमल्सिना/भरत केसी (इमेज)
काठमाडौं, कात्तिक २८ । ‘प्रत्येक परिवार मधुमेह रोगप्रति सचेत बनौं’ भन्ने नाराका साथ बुधबार विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
खानपान र अव्यवस्थित जीवनशैलीका कारण लाग्ने यो रोगबाट नेपालमा पनि धेरै मानिस प्रभावित छन् । रगतमा चिनीको मात्रा बढ्ने रोग नै मधुमेह रोग हो ।
तौल घट्नु, थकान बढ्नु, मुख सुक्खा हुनु, प्यास लाग्नु, धेरै पिसाब लाग्नु, शरीर झमझम हुनु, पोल्नु र लामो समयसम्म शरीरको घाउ निको भएको छैन भने सचेत हुनुहोस् है ! तपाइँमा मधुमेह रोगको लक्षण पनि देखिएको हुनसक्छ ।
तर, ५० प्रतिशत मानिसलाई भने मधुमेह रोगको कुनै लक्षण नदेखिने भएकाले यसलाई चिकित्सकहरुले ‘झुक्काउने’ रोगसमेत भन्ने गरेका छन् ।
महिलामाभन्दा पुरुषमा बढी देखिने यो रोग नियन्त्रण गर्न सकिएन भने अन्धोपन, हृदयाघातलगायत पक्षघातको जोखिम बढ्ने र मिर्गौलामासमेत समस्या हुने मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई बताउँछिन् ।
नेपालमा २० वर्ष उमेर समूहदेखिका मानिसमा मधुमेह रोग देखिन थालेको छ भने चार वर्षको बच्चालाईसमेत पनि ‘टाइप वान’ मधुमेह रोग देखिएको डा. भट्टराईले जानकारी दिइन् ।
दिनहुँ शारीरिक व्यायाम गर्ने, गुलियो चिज कम खाने र अरु खानपानमा पनि विशेष ध्यान दिने हो भने मधुमेह रोगबाट बच्न सकिन्छ ।
तनाव बढी लिने व्यक्तिको शरीरमा इन्सुलिनको मात्रा कम गराउने हर्मोनको विकास हुने हुँदा तनाव नलिन मधुमेह रोग विशेषज्ञ डा. प्रदीपकुमार श्रेष्ठको सुझाव छ ।
मधुमेह रोग लागेका व्यक्तिले जीवनभर औषधि खानुपर्छ भने यो रोग लागेका महिलाले चिकित्सकको सल्लाहमामात्र बच्चा जन्माउँदा राम्रो हुने सुझाव दिइएको छ ।
त्यसैले पनि मधुमेह रोगको लक्षण कुरेर बस्नुभन्दा समय–समयमा स्वास्थ्य परीक्षण गराउनु राम्रो हुन्छ । व्यक्ति आफैंको सचेतना पनि उत्तिकै आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्