अखण्ड, समृद्ध र सशक्त नेपाल बनाउन भारतको सहयोग : मोदी • Image Khabar Image Khabar


अखण्ड, समृद्ध र सशक्त नेपाल बनाउन भारतको सहयोग : मोदी


Imagekhabar
२९ बैशाख २०७५, शनिबार ०६:४०

अखण्ड, समृद्ध र सशक्त नेपाल बनाउन भारतको सहयोग : मोदी

काठमाडौं, वैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड, समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री मोदीले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा भारतको साथ र सहयोग रहने बताए ।
आफ्नो सरकारले भारतमा विकासका लागि ‘सबका साथ सबका विकास’ को नारा अघि सारेको र नेपालमा पनि प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सारेको उल्लेख गर्दै उनले दुवै नारा एकअर्काका परिपूरक भएको टिप्पणी गरे ।
नेपाल र भारतबीचको सम्बन्ध सरकारभन्दा माथि रहेको चर्चा गर्दै प्रधानमन्त्री मोदीले दुई देशको सम्बन्ध जनस्तरमा गहिरो र मित्रतापूर्ण रहेको बताए । उनले भने, ‘मेरो नेपाल यात्रा एक यस्तो ऐतिहासिक समयमा भएको छ जतिखेर नेपालमा तीन तहका निर्वाचन सफलरुपमा सम्पन्न भएका छन्, नेपालको इतिहासमा यो काल स्वर्णीम अक्षरले लेखिनेछ ।’

आफू प्रधानमन्त्री भएपछि तेस्रो पटक नेपाल भ्रमणमा आएको बताउँदै उनले यसबाट नै आफ्नो र भारतसँगको नेपाल सम्बन्ध कति गहिरो छ भन्ने पुष्टि भएको उल्लेख गरे ।

प्रधानमन्त्री मोदीले विकास यात्रा र राष्ट्र निर्माणका लागि प्रधानमन्त्री ओलीको नेतृत्व भरोसा प्राप्त भएकामा शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला दुई देशको विकासको सम्भावनाका बारेमा प्रशस्त छलफल भएको बताउँदै छोटो समयमा नै नेपाल र भारतबीचमा विभिन्न मुद्दामा छलफल भई कतिपय मुद्दामा कामसमेत भएको बताए ।

उनले भने, ‘दुई देशबीचमा भएका कृषि, रेल र जलमार्गमा काम अघि बढाउन शुरुआत भएको छ ।’ यस सम्झौताले दुवै देशको जनताको व्यवसायमा अभिवृद्धि हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले भने, ‘नेपाल भूपरिवेष्ठित मुलुक होइन, बरु जमिन र जल यातायातले सम्पर्क सञ्जालले जोडियोस्, प्रधानमन्त्री ओलीको यस दृष्टिकोणलाई साकार बनाउन भारत हरसम्भव सहयोग गर्ने प्रतिबद्धता छ ।’

नेपालको स्वास्थ्य क्षेत्रका सहयोगको नयाँ कदम उठाएको उल्लेख गर्दै उनले भक्तपुरको क्यान्सर अस्पतालमा बिरामीको उपचारका लागि रेडियो थेरापी मेसिन जडान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संखुवासभामा रहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको शिल्यान्यासले रोजगारका अवसरका साथै आर्थिक र व्यावसायिकता उत्पन्न हुने उनको भनाइ थियो । सो परियोजनाको शुक्रबार नै शिलान्यास गरिएको छ ।

नेपाल र भारत आदिकालदेखि नै नदी र हिमालय पर्वतमालाले जोडिएको बताउँदै उनले वर्तमान समयमा आफूहरु रेलमार्ग, जलमार्ग, प्रशारण लाइन र पाइपलाइनले जोडिन अत्यधिक प्रयासरत रहेको बताए ।

दुई देशको सिमाना खुला भएको र यसमा अवान्छित तत्वद्वारा दुरुपयोग हुन नदिने बताउँदै दुवै देशका प्रधानमन्त्री सिमानाको रक्षा र सुरक्षा मजबुत बनाउन प्रतिबद्ध रहेको बताए ।

दुवै देशको पर्यटन प्रवर्द्धनका लागि रामायण र बुद्ध परिपथलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गर्दै प्रधानमन्त्री मोदीले रामायण परिपथलाई जोड्न आजमात्रै काम अघि बढेको जानकारी गराए ।

मोदी दुईदिने नेपालको राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आएका हुन् । (रासस)

प्रतिक्रिया दिनुहोस्