
काठमाडौं, बैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिनको नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोदीलाई बिदाई गरेका हुन् । यसैबीच, मोदीले आफ्नो नेपाल भ्रमण ऐतिहासिक र सफल भएको जनाए ।
स्वदेश फिर्ताकै क्रममा ट्वीट गर्दै मोदीले भ्रमण ऐतिहासिक र सफल भएको उल्लेख गरेका हुन् ।
भ्रमणमार्फत भारत–नेपाल सम्बन्धमा नयाँ उर्जा थपिएको भन्दै उनले नेपाली जनता तथा नेपाल सरकारले देखाएको न्यानोपनका लागि आभार पनि प्रकट गरेका छन् ।
बिदाईका लागि विमानस्थल पुगेका परराष्ट्र मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण अत्यन्त सफल भएको प्रतिक्रिया दिए ।
जनकपुरबाट नेपालको भ्रमण सुरु गरेका भारतीय प्रधानमन्त्री मोदीले शुक्रवार जानकी मन्दिरमा विशेष पूजा गरेका थिए ।
आज मुक्तिनाथ र पशुपतिनाथमा पूजा अर्चना गरे । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटवार्ता गरेका उनले नेपाली समकक्षी केपीओलीसँग एक्लाएक्लै र प्रतिनधिमण्डलसहित भेटवार्ता गरेका थिए ।
शनिबार भने नेपाली कांग्रेस, माओवादी केन्द्र, फोरम तथा राजपाका नेताहरुसँग भेटवार्ता गरे ।
मोदीलाई काठमाडौं महानगरपालिका र जनकपुर उपमहानगरपालिका नागरिक अभिनन्दन गरेको थियो भने सैनिक मञ्च टुंडिखेलमा सम्मान गारद प्रदान गरियो ।
प्रतिक्रिया दिनुहोस्