
काठमाडौं, वैशाख ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । सरकार र विपक्षी दलले भ्रमण राजनीतिक रुपमा सफल भएको प्रतिक्रिया दिएका छन् ।
विपक्षी कांग्रेसले भने प्रधानमन्त्री ओली नेतृत्व सरकारको राष्ट्रवाद उदांगिएको टिप्पणी गर्न पनि भ्याएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वर्षको अन्तरालमा तीन पटक नेपालको भ्रमण गरे । झण्डै दुई दशकसम्म नेपाली नेताहरुले मात्र एकतर्फी दिल्ली दरबार धाउने गरेकामा मोदी नै सत्तामा आएपछि २०७१ सालमा पहिलो पटक नेपाल आएका थिए ।
त्यसयताको तीन वर्ष मोदीसँगको नेपाल सम्बन्ध निकै उतारचढावपूर्ण रह्यो । पहिलो नेपाल भ्रमणमा जनस्तरबाटै पाएको भव्य स्वागतको साटो तेस्रो पटक नेपाल आउँदा मोदीमाथि थुप्रै प्रश्न र आलोचना तेर्सिएका थिए । त्यसको मूल कारण अरु केही नभई नेपालले जारी गरेको संविधानप्रति मधेशी दलले गरेको आन्दोलनमार्फत् रोटी सेकाउने दाउमा थोपरिएको अमानवीय नाकाबन्दी नै थियो । जसको मूख्य जिम्मेवार भारत नै थियो । यसले मोदीमाथिको आशा आलोचनामा परिवर्तन भएका थिए । यद्यपि, पछिल्लो भ्रमण सफल भएको टिप्पणी सरकार र विपक्षीले मात्र होइन स्वयं मोदीले पनि गरेका छन् ।
सफलताको मानक के भन्ने प्रश्न भने तेर्सिएको छ । चाहे नेपाली नेता भारत जाँदा होस् वा भारतीय नेता नेपाल आउँदा गरिएका यसअघिका सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन नभएको पृष्ठभूमि छ । करीब महिना दिनको अन्तरमा एकपछि अर्का प्रधानमन्त्रीले दिल्ली र काठमाडौं भ्रमणका क्रममा गरेका बाचाहरु कत्तिको पालना र कार्यान्वयन गर्लान् ? समग्रमा भ्रमणको सफलता÷विफलता त्यसैमा निर्भर गर्नेछ ।
हुनत यस पटकका दुबै भ्रमणमा नयाँ सम्झौता गर्नेभन्दा पुराना अधकल्चा बाचाहरु पूरागर्ने मै दुबै प्रधानमन्त्रीको जोड देखिन्छ । पुराना सम्झौता कार्यान्वयन नगर्दासम्म सही ढंगमा भारतप्रति नेपाली जनताको विश्वास उठ्न नसक्ने नेपाल पक्षले राम्रैसँग राखेको बताइरहेका छन् ।
वर्षौदेखि बहुचर्चामा रहेका र नेपाली राजनीतिसमेतलाई गिजोल्ने कारक बनेका कालापानी/सुस्ता सीमा विवाद, पञ्चेश्वर बहुउदेशीय परियोजनादेखि सामान्य नै मानिने प्रहरी प्रशिक्षण निर्माणसम्मको कामले कुनै गति लिन सकेको छैन । यद्यपि, यस पटक दुबै सरकार परियोजानाहरु ओगटेर नराख्ने र यसअघि गरिएका सम्झौता आगामी सेप्टेम्बरसम्मका कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाइएको छ ।
मूलतः तीर्थाटन मानिएको तर बीचमा राजकीय स्वरुप पाएको मोदीको यसपटकको भ्रमण निकै सफल भएको सरकारको दाबी छ ।
भ्रमण राजनीतिक रुपमा सफल भएकोमा विपक्षी कांग्रेस पनि सहमति जनाउँछ । मोदीको भ्रमणले नेपाल–भारतबीचको यसअघिका तित्तता घटाउने काम गरेको कांग्रेस स्वीकार्छ ।
कांग्रेसले यही मौकामा प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी मुहारको असली रुप देखिएको टिप्पणी गर्न पनि भ्याएको छ । ओली नेतृत्वको सरकारको खोक्रो राष्ट्रवादी चरित्र उदांगिएको टिप्पणी कांग्रेस उपसभापति विमलेन्द्र निधिले गरेका हुन् ।
भ्रमण सफलताको चर्चा हुँदै गर्दा भ्रमणको समग्र व्यवस्थापनमा नेपालीभन्दा भारतीय पक्षको प्रभाव बढी देखियो ।
मुख्यतः सुरक्षा व्यवस्थापनमा भारतीय पक्षको बोलवाला देखियो । भ्रमणका बारेमा प्रारम्भिक टिप्पणी जे जस्तो रहे पनि दुबै देशका मुखियाहरुले दिल्लीदेखि काठमाडौंसम्ममा गरेका कबुललाई कार्यान्वयन तहमा कति उतार्छन्, त्यसैले भ्रमणको सफलता/विफलता निर्भर गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्