
युवा संघ नेपालको २८औं स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनैपनि दिन एकता हुनसक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गरे ।
उनले भने–‘दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्वीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ । तर, हामी दुई/तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्नसक्छौं । पत्रकारहरु भोलि बालुवाटारमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौं ।’
एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधिनताका लागि देशव्यापी अभियान सन्चालन गरेर दुनियाँलाई देखाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रअनुसार समृद्धि र न्यायपूर्ण समाजअनुकूल संयुक्त नीति कार्यक्रम र बजेटको तयारीमा सरकार रहेको स्पस्ट गरे ।
अबको तीन वर्षपछि नेपालले भारतलाई बिजुली बेच्ने स्थिति आउने ठोकुवा पनि उनले गरे ।
सरकारले सुन तस्करी र यातायातमा एकाधिकार तोडेको उल्लेख गर्दै उनले भ्रष्टाचार, कालोबजारी, तस्करीकोविरुद्ध अभियान छेड्न युवालाई आह्वान गरे ।
प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा आफूले नेपालको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको बरु विगतमा भएका राष्ट्रहितविरोधी व्यवहारलाई सच्याएको दाबी गरे ।
उनले भारतीय प्रधानमन्त्रीसँग विगतमा सरकार प्रमुखले ‘हजुर संविधान संशोधन गर्छु’ भनेर घुँडा टेकेको तर पछिल्लो समयमा मोदीले नेपालमा संविधान जारी भइ निर्वाचन सम्पन्नपश्चात् नयाँ सरकार गठन भएकामा यसलाई ‘स्वर्णिम समय’ भन्दै ‘नेपालको प्राथमिकता र आवश्यकतामा सहयोग गर्छु’ भनेकाले नेपालको शीर झुक्यो कि भनेर भ्रममा नपर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीको भ्रमणका समयमा प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु रावतले दिएको अभिव्यक्ति गलत भएको र त्यो नेपाल सरकारको धारणा नभएको र हुन नसक्ने स्पस्ट पनि गरे ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आन्दोलनको चरण समाप्त भएकाले पुनःनिर्माणको अभियानमा लाग्न युवाहरुलाई आग्रह गरे ।
अर्का वरिष्ठ नेता माधवकुमार नेपालले छिट्टै पार्टी एकता गरेर समृद्धि र स्थायित्वको अभियान दिशामा मुलुकलाई लगिने बताए ।
पार्टीका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले युवाहरुमा सही विचार, विधि र नेतृत्वलाई मान्ने क्षमता हुनुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष रमेश पौडेलले समृद्धि र सुशासनका लागि युवा अभियानको घोषणा गरे । रासस
प्रतिक्रिया दिनुहोस्