२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पार्टी एकतापछि कांग्रेस हाम्रो प्रतिस्पर्धी नै हुँदैन: अध्यक्ष ओली


0
Shares

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नै नभएको बताएका छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेले काठमाडौंको बल्खुमा बिहीबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी नभई सहयोगी मात्रै हुने बताएका हुन् ।

उनले सहयोगी पार्टीलाई साथ लिएर सरकार अघि बढ्ने भन्दै मुलुकको समृद्धिमा कांग्रेसले सहयोग गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले पार्टी एकीकरणपछि मुलुकमा अधिनायकवाद आउँछ कि भन्ने केहीलाई भ्रम रहे पनि पार्टी एकता जनताको सेवाका लागि भएको स्पष्ट पारे । उनले पार्टी एकताले नेपालको भविष्य उज्जल हुने दाबी गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन–आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताए ।

उनले मदन–आश्रित स्मृति दिवसकै दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी पनि दिए ।

अध्यक्ष दाहालले पार्टी एकता नै मदन भण्डारी जीवराज आश्रितप्रति सच्चा सम्मान हुने बताए । मदन–आश्रित स्मृति दिवसमा माओवादी सहभागी भएको यो पहिलोपटक हो ।