
अस्पतालको सरसफाई अभियानलाई तीव्रता दिइएसँगै वीर अस्पतालको मुहार फेरिँदै गएको हो ।
गत वैशाख २३ गतेदेखि खेम्स क्लिनिङ र धुर्मुस–सुन्तली फाउन्डेसनले सरसफाइ र मर्मत–सम्भारको काम सुरु गरेपछि वीर अस्पतालको मुहार फेरिँदै गएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपति क्षेत्र सरसफाइ गरेर सबैलाई चकित बनाएको खेम्स क्लिनिङले गरेको सरसफाइ अभियानमा सरसफाइदूतसमेत रहेका सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले सहयोग गरिरहेका छन् ।
अभियान सुरु भएको केही दिनमै धेरै नै परिवर्तन भइसकेको छ । शौचालयबाट दुर्गन्ध बेपत्ता भएको छ भने दिसा–पिसाब गर्ने प्यान–कमोडहरु टिलिक्क टल्किएका छन् । नाक थुन्दै भित्र पस्नुपर्ने अवस्था अन्त्य भएको छ ।
अस्पतालमा अहिले सरसफाइदेखि रङरोगनका काम धमाधम भइरहेका छन् ।
सरसफाइ गरेर नमुना अस्पतालकारुपमा चिनाउने उद्देश्य लिएर वीर अस्पताल पसेका सिताराम कट्टेल ‘धुर्मुस’ले सफाइमात्र गरेर चित्त नबुझेर रङरोगनसमेत गर्ने प्रस्ताव गरे ।
अस्पताल व्यवस्थापन सहमत भएपछि उनले भैरहवामा लीलाराम–कुन्तादेवी प्रतिष्ठानले सम्मान गरेको रकम दुई लाख रुपैयाँबाट रङ किनेर काम सुरु गरेका थिए ।
अहिले अस्पतालमा रङरोगनको काम चौबीसै घन्टा भइरहेको छ । अस्पतालका झ्याल तथा भित्तामा पहेंलो र नीलो रङ लगाइएको छ । भित्तामा असरल्ल फैलिएका तारलाई लिस्टीले बाँध्ने कामसमेत भइरहेको छ ।
बिरामी तथा आगन्तुकको चापका कारण सरसफाइको काम भने राति ८ बजेदेखि बिहान ३ बजेसम्म गर्ने गरेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष धुर्मुसले जानकारी दिए ।
सरसफाइ गरी नमुना अस्पताल बनाउने प्रण गरेका धुर्मुसले वीर अस्पताललाई पनि डिजिटल प्रणालीमा लैजाने बताए ।
वीर अस्पतालका निर्देशक भूपेन्द्र बस्नेतले सरसफाइ अभियानले अस्पताललाई थप सहयोग पुगेको बताए । उनले यो अभियानलाई अस्पतालले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
अस्पताल सरसफाइ अभियानपछि पनि सेवाग्राही अझै सन्तुष्ट हुन सकेका छैनन् । उनीहरु मुलुककै पुरानो अस्पताललाई नमुना बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्