
दुई पार्टी एकताको औपचारिक घोषणा हुनुअघि नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु दिनभर व्यस्त रहे ।
बिहीबार बिहान दुवै पार्टीका शीर्ष नेतासहित अन्य नेताहरु मदन–आश्रित स्मृति दिवस मनाउन संयुक्तरुपमा नेकपा एमालेको पुरानो कार्यालय बल्खुमा जम्मा भए । स्मृति दिवस समारोहमा दुवै दलका शीर्ष नेताले सम्बोधन गरे ।
बल्खुमा आयोजना गरेको कार्यक्रम सकिएलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकता संयोजन समितिको बैठक बस्यो ।
एकता संयोजन समितिको बैठकले दुई पार्टीका अध्यक्षबीच पार्टी एकताको लागि भएको सहमति अनुमोदन गर्यो ।
लगत्तै पार्टी एकताका लागि भएको सहमति अनुमोदन गर्न दुवै दलको छुट्टा–छुट्टै बैठक बस्यो ।
दुवै दलले पार्टी एकताका लागि भएको सहमति अनुमोदन गरेपछि पुनः दुवै दलको प्रधानमन्त्री निवास बालुवाटारमै संयुक्त केन्द्रीय समितिको बैठक बस्यो ।
संयुक्त केन्द्रीय समिति बैठकमा दुवै दलका ४४१ केन्द्रीय सदस्यहरुले सामूहिकरुपमा शपथग्रहण गरे । संयुक्त बैठकले पार्टी एकतासम्बन्धी भएका सहमतिलाई अनुमोदन गर्यो ।
साथै, पहिलो एकीकृत बैठकले सहमतिहरुलाई कार्यान्वयन गर्ने निर्णय गर्यो ।
संयुक्त बैठक सम्पन्न भएलगत्तै दल एकतासम्बन्धी जानकारी दिन र दल दर्ता गर्न केपी शर्मा ओली, पुष्पकमल दाहालसहित सुवासचन्द्र नेम्वाङ, देव गुरुङलगायत र केही कानुनविद्हरु निर्वाचन आयोग गए ।
निर्वाचन आयोगलाई दल एकताको जानकारी दिएलगत्तै राष्ट्रियसभागृहमा आयोजना गरिएको घोषणासभामा नेताहरु सहभागी भए ।
पार्टी एकताको सार्वजनिक घोषणा गरेलगत्तै शीर्ष नेता, अन्य नेताहरु र पार्टीका कार्यकर्ताहरु पार्टी एकताको खुसियालीमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको रात्रिभोजमा सहभागी भए ।
प्रतिक्रिया दिनुहोस्