२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सत्तापक्षको पहिलो सिटमा दाहाल, एकतापछि सांसदहरु यसो भन्छन् (भिडियो)


0
Shares

पार्टी एकीकरणपछि पहिलोपटक शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्षको पहिलो सिटमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल बसे भने दोस्रोमा माधवकुमार नेपाल ।

झलनाथ खनाल विदेशमा रहेका कारण उनको आसनग्रहण भएन । तर, अरु सिटहरुमा भने खासै फेरबदल देखिएन ।

नेपाल कम्युनिष्ट पार्टीका केही सांसदहरुबाहेक अधिकांश सांसदहरु पहिला बस्ने गरेकै सिटमा बसे ।

पहिला नै बसिरहेको स्थानमा बस्न सजिलो भएको र परिचय गर्दा पनि नयाँ पार्टीमा बानी लागिनसकेकाले पुरानै पार्टीको नाम लिने गरेको अधिकांश सांसदहरुको भनाइ थियो ।

यद्यपि, कतिपय सांसदहरु भने एकापसमा मिसिएर अर्थात् छ्यासमिस गरेर बसेका थिए ।

नयाँ सिटमा बसेका सांसद अमनलाल मोदी पार्टी एकतापछि रमाइलो महसुस भएकाले नयाँ सिटमा गएर बसेको बताउँछन् ।

आफूहरुले खासै नयाँ अनुभव नगरेको बताउने नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले अब मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्नेमा भने जोड दिएका छन् ।

निर्वाचनमा सँगै हिँडेर पार्टी एक गर्छौं भन्दै भोट मागेकाले अहिले त्यो काम पूरा भएकोमा खुसी लागेको तर्क छ सांसदहरुको । मुलुक निमार्णका लागि अब ध्यान दिनुपर्छ, भन्छन् उनीहरु ।

संसद बैठकमा विपक्षी नेपाली कांग्रेससहित विशेष समयमा बोल्ने अधिकांश दलले पार्टी एकता गरेकामा नेकपाका नेताहरुलाई बधाइ र धन्यवाद दिए र दम्भ नदेखाउन सुझाव पनि दिए ।

संसदमा दल एकता भएको औपचारिक जानकारी अहिलेसम्म गराइसकिएको छैन ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा अब नेपाल कम्युनिष्ट पार्टीको सांसद संख्या १७४ पुगेको छ । यो संख्या सरकारका पक्षमा स्पस्ट एकल बहुमत हो ।

यद्यपि, सरकार भने संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा संयुक्तको हैसियतमा बनेकाले संविधानतः एकल बहुमतको हैसियतमा नभइ संयुक्त सरकारको प्रावधानअन्तर्गत् नै रहनेछ ।

भिडियो हेर्नुहोस्