२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


जमिनको लालपूर्जा भएर के गर्नु झुप्रो ठड्याउने माटो नभएपछि..


0
Shares

डीबी विष्ट/ईमेज:

बझाङ, जेठ ६ । सेती र कालंगा नदीमा बर्षेनी आएको बाढीले खेती योग्य जमिन बगाएर बगरमा परिणत गरेको छ ।

बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रहरुमा लाखौं रोपनी जग्गा बगाउँदा यहाँका बाढी पीडितहरुसंग जमिनको लालपुर्जा छ तर जमिन भने छैन । बर्षायाम सुरुसंगै नदीले कटान सुरु गरेपछि यस क्षेत्रका वासिन्दाहरु चिन्तित छन् ।

थलारा गांउपालिका–९ अफ्लाबगरका कैले दमाईसंग झण्डै ७ रोपनी जमिनको लालपुर्जा छ तर जमिन भने छैन ।

लालपुर्जालाई आधार मान्नर हेर्ने हो भने उनी त्यहांका जमिन्दार हुन । तर अहिले उनीसँग खुट्टो टेक्ने ठाउँ समेत छैन ।

हाल उनी गउँ नजिकैको ऐलानी जग्गामा बनाएको सानो झुपडीमा आट जनाको परिवार सहित बस्दै आएका छन् ।

२०५७ साल जेठ महिनामा र २०७० सालमा आएको बाढी का कारण खेती योग्य जमिन बगाए पछि यहाँ का सयौँ घरपरिवार अहिले सुकुम्वासी जिवन विताइरहेका छन् ।

त्यसपछिका बर्षेनी आएका बाढी तथा पहिरोले खेतीयोग्य जमिन कटान गरी बगाउँदै गर्दा थलारा गाउँपालिकामा मात्र करिव ७५ परिवारको हालत उस्तै छ ।

जमिनको लालपुर्जामा प्रसस्त जग्गा भएको भए पनि कतै बाढीले बगाएर त कतै पहिरोले पुरेर उनिहरु सुकुम्बासी सरहको जिवन विताई रहेका छन ।

कृषि र पशुपालनलाई मुख्य पेशा बनाउदै आएका यस क्षेत्रका वासीन्दाहरु अहिले परिवार धान्न पनि धौ धौ भएको छ ।

मुख्य पेशा कृषि भए पनि जग्गा नभएका कारण ज्याला मजदुरी गरेर परिवारको खर्च जोहो गरिरहेको उनीहरुको भनाई छ ।

जिल्लाको बुङगल क्षेत्रको पनि अवस्था उस्तै छ । बर्षेनि आएको बाढीका कारण नदि किनाराका वस्तिहरु बगाउदै गर्दा यहाँका वासीन्दाहरु संग लालपुर्जा भए पनि जमिन छैन ।

मेरो जमिन यहाँ तिर थियो भन्ने पनि एकिन गर्न नसकिने अवस्था छ ।

बर्षेनी बाढीले उठिवास लगायो बुङगल नगरपालिका दहबगरका मान बहादुर धामीले भने । २०५७ साल जेठ २६ गते आएको बाढीले आधा जमिन बगाएको थियो ।

२०७० को असारमा आएको बाढीले १२ रोपनि जमिन बगायो । ति दिन सम्झेर रुन मन लाग्छ उनले भने । जमिन भए केहि व्यवसाय गरेर बस्न हुन्थ्यो । अहिले पाखोमा भएको जमिनमा घर बनाएर बसेको छु ।

मानबहादुर र कैले त एक प्रतिनिधि पात्र मात्र हुन । जिल्लामा कुनै संघ संस्था र सरकारी कार्यालय संग कतिको जमिन बगाएको छ भन्ने एकिन तथ्याङ्क नभए पनि करिव एक हजारको हाराहारीमा लालपुर्जा भए पनि जमिन नभएको देखिन्छ ।

बुङगल भएर बग्ने कालंगा नदिने दहबगरको लौने देखि केदास्युको देउरा सम्म र सेती नदिले मेलविसौना देखि देउरा सम्मको हजारौ रोपनि खेती योग्य जमिन बगाएर परिणत गरेको छ ।

बाढीको समयमा तत्कालै राहात सामाग्री वितरण वाहेक सरकारी पक्षबाट आफुलाई कुनै सहयोग नभएको पिडितहरुको गुनासो छ ।

यस्तै सेती नदीले समेत साईपाल गाँउपालिका देखी मष्टा, तल्कोट,जयपृथ्वी नगरपालिका, थलारा, केदारस्युँ, छविसपाथीभेरा, गाँउपालिकाका खेती योग्य जमिन बगरमा परीणत भएको छ ।

कतिपयको खेतीयोग्य जमिनमा सेती नदी बगेको छ । तबन्धनको सुविधा नहुँदा बर्षै पिक्ष खेतीयोग्य जमीन बगरमा परिणत भई रहेको स्थानीय बासिन्दाको गुनासो छ ।