पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने • Image Khabar Image Khabar


पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने


Imagekhabar
७ जेष्ठ २०७५, सोमबार १७:२५

पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाइने उल्लेख गरिन् ।

आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने र दीगो विकासको लक्ष्य पूरा गरिने उल्लेख गर्दै उनले कृषि, ऊर्जा, उद्योग र पर्यटनलाई आर्थिक विकासका संवाहककारुपमा अगाडि बढाइने बताइन् ।

सरकारी, निजी तथा सहकारी साझेदारीमा विकासलाई प्रमुख आधारकारुपमा विकास गरिने, प्रमुख सहरलाई हरित सहरमा विकास गरिने, जैविक विविधताको संरक्षण तथा नदी किनारा संरक्षणमा जोड दिइने, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाइने र स्वच्छ पानी उपलब्ध गराउन विशेष ध्यान दिइने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

उद्योग तथा घरायसी प्रयोगका लागि २४ सै घन्टा विद्युत् सेवा उपलब्ध गराइने र प्रसारणलाइन निर्माणलाई विशेष प्राथमिकता दिएर अगाडि बढाइने सरकारको कार्यक्रममा समावेश छ ।

यस्तै, पाँच वर्षभित्र तराईलाई काठमाडौंसँग जोड्ने द्रुतमार्ग तथा मध्यपहाडी राजमार्ग निर्माण गरिने तथा मदन भण्डारी राजमार्ग निर्माणलाई विशेष जोड दिइने छ ।

रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाइने सरकारको लक्ष्य छ ।

यस्तै, सबै स्थानीय तहसम्म सूचना राजमार्ग विस्तार तथा विकास गरिने र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने कार्यक्रमसमेत प्रमुख प्राथमिकतामा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्