रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु, तीन महिनामा सकिने (७ तस्वीर) • Image Khabar Image Khabar


रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु, तीन महिनामा सकिने (७ तस्वीर)


Imagekhabar
८ जेष्ठ २०७५, मंगलवार १५:०४

रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु, तीन महिनामा सकिने (७ तस्वीर)

यही जेठ ६ गते नेपाल आएका चिनियाँ अधिकारीले स्थलगतरुपमा रसुवा पुगेर रेलमार्गको अध्ययन सुरु गरेका हुन् ।

रेल विभागको संयोजनमा चिनियाँ अधिकारीले रेलमार्गको अध्ययन सुरु गरेको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

गत वैशाख दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीसहितको उच्च सरकारी अधिकारी टोली रेलमार्ग निर्माणसम्बन्धी अध्ययन गर्न चीन गएको थियो । सोही टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी नेपाल आएका छन् ।

सचिव अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी काठमाडौं आएका हुन् ।

रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर उपाध्यायकाअनुसार चिनियाँ रेल प्रशासनका उच्च अधिकारीसहितको टोलीले काठमाडौंमा रेल स्टेसन रहने स्थान र रसुवाका विभिन्न क्षेत्रमा अध्ययन सुरु गरेको छ ।

हालको अध्ययनबाट रेलमार्ग निर्माणको एउटा महत्वपूर्ण खाका तयार हुने विश्वास लिइएको छ ।

आगामी अगस्टसम्म केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।

यसअघि, नेपालमा रेलमार्ग निर्माणका विषयमा नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच चीनको सियानमा उच्चस्तरीय छलफल तथा भेटवार्ता भएको थियो ।

हालका सभामुख एवं तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले २०७४ सालको भदौ अन्तिम साता गरेको चीन भ्रमणकाक्रममा नेपालमा रेलमार्ग विस्तारबारे सघन पहल गरेका थिए ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ यीलगायतका नेतासँग रेलमार्ग निर्माणकाबारेमा छलफल भएको थियो ।

सो छलफललगत्तै चिनियाँ रेल प्रशासनको उच्च टोलीले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनपश्चात् नेपालमा रेलमार्ग निर्माण गर्नसकिने प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो ।

यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यही वैशाखको पहिलो साता गरेको चीन भ्रमणकाक्रममासमेत रेलमार्ग निर्माण तथा विस्तारकाबारेमा महत्वपूर्ण छलफल एवं विचार–विमर्श भएको थियो ।

सोही छलफल र विचार–विमर्शका आधारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अधिकारी र रेल विभागका अधिकारी चीन भ्रमणमा गएका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले अनुदानमा रेलमार्ग निर्माण गरिदिन चिनियाँ अधिकारीसमक्ष आग्रह गरेका थिए ।

नेपाली सीमा रसुवागढीदेखि काठमाडौंसम्मको रेलमार्ग करिब १०० किलोमिटर लामो हुनेछ । करिब एक घन्टाको यात्रामा रसुवागढीबाट काठमाडौं आइपुगिने प्रारम्भिक अध्ययनमा देखिएको छ ।

नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ह्लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्नेछ ।

सोही रेलमार्ग काठमाडौंबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जानेछ भने अर्काे लाइन लुम्बिनी जानेगरी प्रारम्भिक अध्ययन गरिएको छ ।

रेलमार्गमा सुरुङ र पुलको संख्या बढी हुनेछ । सो रेलमार्गमा ६ ओटासम्म स्टेसन रहने बताइएको छ ।

प्रारम्भिक अध्ययन सकिएपछि रेलमार्गका लागि विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तथा लगानीको स्वरुप र ढाँचाका विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी छ ।

यस्तै, काठमाडौं उपत्यकामा पनि मोनोरेल चलाउन चिनियाँ कम्पनीले प्रस्ताव गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

चक्रपथमा मोनोरेल चलाउन काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसँग चिनियाँ कम्पनीले प्रस्ताव गरेको हो ।

सरकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममासमेत रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

सरकारको नीति तथा कार्यक्रममा मेची–महाकाली रेलमार्ग, काठमाडौं–वीरगन्ज रेलमार्ग तथा रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण अगाडि बढाउने विषय समेटिएको छ ।

रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु, तीन महिनामा सकिने (७ तस्वीर)

रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु, तीन महिनामा सकिने (७ तस्वीर)

रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु, तीन महिनामा सकिने (७ तस्वीर)

रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु, तीन महिनामा सकिने (७ तस्वीर)

रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु, तीन महिनामा सकिने (७ तस्वीर)

रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु, तीन महिनामा सकिने (७ तस्वीर)

प्रतिक्रिया दिनुहोस्