
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका डा. मीनेन्द्रप्रसाद रिजाललगायत १७ सांसदद्वारा प्रस्तुत् संशोधनमा राष्ट्रपतिबाट भएको नीति तथा कार्यक्रमको सम्बोधन विभिन्न ठाउँमा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा आदरार्थी शब्द प्रयोग नभएको उल्लेख गरिएको छ ।
संशोधन प्रस्तावमा ‘सभामुख र अध्यक्षलाई सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरिएकोमा त्यसलाई संशोधन गरी नेपालको संविधानको व्यवस्था, मर्म र भावना, प्रचलित परम्पराअनुरुप सम्मानजनक पदावली प्रयोग गरिनुपर्दछ’–भनिएको छ ।
संघीय समाजवादी फोरम नेपालका सुरेन्द्रकुमार यादव, रेनुका गुरुङ, प्रदीप यादव र रामसहायप्रसाद यादवले ‘राष्ट्रिय सहमतिको आधारमा संविधान सशोधन गरिनेछ’ भन्ने बुँदा थप्न तथा लोकतन्त्रको रक्षा, सुदृढीकरण र सही प्रयोगमा अडिग रहने भन्नुको सट्टा ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीकरण, प्रादेशिक स्वयत्तता र स्वशासन, समावेशी लोकतन्त्र र धर्मनिरपेक्षताको रक्षा, सुदृढीकरण र सही प्रयोगमा यो सरकार अडिग रहनेछ’ भन्ने संशोधन गर्न माग गरेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालका सांसदद्वय अनिलकुमार झा र लक्ष्मणलाल कर्णले ‘सहिदका परिवारको भरणपोषणको व्यवस्था गर्नु सरकारको दायित्व रहने’ भन्ने शब्द समावेश गर्नलगायतका विषयमा संशोधन प्रस्तुत् गरेका छन् ।
विभिन्न राजनीतिक दलका २३ जना सांसदले १६ भन्दा बढी बुँदामा संशोधन हालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसदमा प्रस्तुत् गरी सम्बोधन गरेकी थिइन् । रासस
प्रतिक्रिया दिनुहोस्