
करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाडौं उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले यहाँ केबलकार सन्चालन गर्न सम्भव भएको देखाएको हो ।
केबलकार निर्माण, जडान र सन्चालनमा विश्वमा प्रसिद्धि कमाएका फान्सेली कम्पनीद्वय एडीपी र स्याष्ट्राले नेपालका पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनसँगको सहकार्यमा पाँच वर्ष लगाएर गरेको अध्ययनमा केबलकार परियोजना काठमाडौं उपत्यकामा सन्चालन गर्नसकिने स्पस्ट भएको हो ।
फ्रान्स सरकारले द्विपक्षीय सहयोगअन्तर्गत् रु तीन करोड ४० लाख खर्च गरेर तयार पारेको काठमाडौं उपत्यका केबलकार परियोजना सम्भव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई हन्तान्तरण गरेको छ ।
नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले अध्ययन टोलीका सदस्य, नेपाली निर्माण प्रतिष्ठानका प्रतिनिधि तथा फ्रान्सेली प्रतिनिधिमन्डलको उपस्थितिमा बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई उक्त प्रतिवेदन हस्तान्तरण गरे ।
सम्भाव्यता अध्ययन प्रतिवेदनका मुख्य विषयवस्तुबारे सम्बन्धित इन्जिनियर र दुईपक्षीय सहायताबारे राजदूत कार्मोनाको मन्तव्य सुनेपछि मन्त्री महासेठले केही सातापछि नेपाल सरकारको निर्णय सुनाउने जानकारी दिए ।
‘प्रतिवेदनबारे हामी गहन अध्ययन र छलफल गर्छाैं, सम्माननीय प्रधानमन्त्री र लगानी बोर्डमा पनि यसबारे विचार–विमर्श गरिनेछ’–आगामी एक महिनाभित्र केबलकार निर्माण परियोजना टुंगो लगाइसक्ने दृढता व्यक्त गर्दै उनले भने ।
काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप नियन्त्रण, वायु तथा ध्वनि प्रदूषणमा कमी, पैदलयात्रीका जोखिम र कठिनाइको समाधान र महानगरको सौन्दर्य बिटुलिन नदिन केबलकार परियोजना कार्यान्वयन अपरिहार्य भएको पन्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले राससलाई बताए ।
केबलकार स्टेसनका निम्ति जग्गा प्राप्तिजस्ता जटिल विषय सरकारले सल्टाउनुपर्ने भएकाले महानगरपालिकाजस्ता निकायको पनि परियोजनामा उत्तिकै महत्वपूर्ण भूमिका हुने उनी बताउँछन् ।
सरकारले परियोजनामा साथ दिएमा त्यो निजी क्षेत्रले पूरा गरेरै छाड्ने प्रण उनी गर्छन् ।
कालीका समूहका प्रमुख कार्यकारी निर्देशक वत्सल पाण्डेले सार्वजनिक निजी साझेदारीअन्तर्गत् उक्त परियोजना कार्यान्वयन गर्न उपयुक्त हुने भएकाले आफ्नो समूहलाई फ्रान्सले अध्ययनमा समावेश गरेको बताए ।
ब्लूलाइन केबलकार सेवा विष्णुमतीबाट प्रारम्भ भइ हनुमानढोका दरबार क्षेत्र–रत्नपार्क–डिल्लीबजार–भन्डारखाल–चाबहिल हुँदै बौद्धनाथमा टुंगिनेछ ।
जुनसुकै स्टेसनबाट यात्रा प्रारम्भ गरी जहाँ उत्रिएपनि हरेक नेपाली यात्रीले रु ४० भाडा तिर्नुपर्नेछ भने पर्यटकलाई त्यसै किसिमको सेवाका निम्ति रु १५० शुल्क लाग्नेछ ।
त्यसैगरी, गोंगबु– बालाजु–सोह्रखुट्टे–कालिमाटी–बल्खु–त्रिभुवन विश्वविद्यालय ‘रुट’ कायम हुनेछ भने कलंकी–टेकु–थापाथली–रत्नपार्क अर्को केबलकार मार्ग हुनेछ ।
लगनखेल–पुल्चोक–थापाथली–रत्नपार्कलाई पनि उक्त परियोजनाले समेटेको छ ।
विश्व बैंक, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक, युरोपेली लगानी बैंकजस्ता बहुपक्षीय संस्थाले काठमाडौं उपत्यका केबलकार परियोजनामा लगानी गर्न रुचि देखाएका छन् ।
प्रतिक्रिया दिनुहोस्