
चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत् अन्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो ।
कलंकीचोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अन्डरपासमध्ये ४०० मिटर कलंकी–खसीबजार भागको ‘फिनिसिङ’को कामसमेत सम्पन्न भएको आयोजनाले जनाएको छ ।
असार दोस्रो सातासम्म कलंकी–बाफल भागको ४०० मिटर ‘फिनिसिङ’को काम सकेर हस्तान्तरणको तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिए ।
योसँगै कोटेश्वर–बल्खुपुल–कलंकी १०.४ किमि सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।
९ किमिको काम सम्पन्न भइ १.४ किमिको काममात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
‘कोटेश्वर–बल्खुपुलको सबै काम सम्पन्न भएको छ, बल्खुपुलबाट कलंकीसम्म सडक विस्तार अन्तिम चरणमा पुगेको छ, मंसिरसम्म सबै काम सकेर सडक हस्तान्तरण हुन्छ’–उनले भने ।
चिनियाँ युआन रु २१ करोड २० लाख अर्थात् नेपाली करिब रु पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खन्ड विस्तारको काम भएको हो ।
निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ ।
दोस्रो चरणमा कलंकीबाट महाराजगन्जसम्म ८.५ किमि सडक विस्तारका लागि गृहकार्य सुरु भएको सडक विभागले जनाएको छ । यो खन्डको किनारका संरचना हटाउने काम सुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।
साउनसम्म यो खन्डको पनि प्रारम्भिक डिजाइन तयार हुने विभागले जनाएको छ । त्यसलगत्तै काम सुरु हुनेछ । यो खन्ड विस्तारका लागि पनि चीनले नै अनुदान सहयोग गर्नेछ ।
२८ किमि चक्रपथमध्ये महाराजगन्ज–कोटेश्वर खन्डका विषयमा भने कुनै प्रक्रिया अघि बढेको छैन ।
प्रतिक्रिया दिनुहोस्