मन्त्रीहरु अथाह सम्पत्तिका मालिक, कसको कति ? • Image Khabar Image Khabar


मन्त्रीहरु अथाह सम्पत्तिका मालिक, कसको कति ?


Imagekhabar
९ जेष्ठ २०७५, बुधबार २०:४१

मन्त्रीहरु अथाह सम्पत्तिका मालिक, कसको कति ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार वर्तमान कम्युनिष्ट सरकारका केही मन्त्रीहरु साँच्चिकै सर्वहारा देखिएका छन् भने धेरैजसो आश्चर्य लाग्नेगरी धनी देखिएका छन् ।

गएको फागुन ३ गते गठन भइ चैत २ गते तेस्रोपटक विस्तार भएर कायम रहेको वर्तमान मन्त्रिपरिषदका सदस्यको ढिलोगरी सार्वजनिक भएको सम्पत्ति विवरण हेर्दा केहीको अवस्था टिठलाग्दो देखिएपनि केही भने असाध्य धनी रहेको पाइएको छ ।

घरजग्गामात्र हैन, करोडौंको बैंक ब्यालेन्स, सेयर लगानी र सुनचाँदी तथा जवाहरतमा पनि मन्त्रीहरु एकसे एक देखिएका छन् ।

चाखलाग्दो कुरा के छ भने अधिकांश पुरुष मन्त्रीको सम्पत्ति श्रीमतीका नाममा रहेको पाइएको छ र धेरैले त्यो सम्पत्ति पैत्रृक भनेर दावी गरेका छन् ।

कतिपयले माइतीबाट पाएको भनेर उल्लेख गरेका छन्, जुन अप्रत्यक्षरुपमा दाइजो हो र त्यो गैरकानुनी र दन्डनीय हुनजान्छ ।

प्रधानमन्त्री ओलीको सम्पत्ति
सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यसँग भक्तपुर, सूर्यविनायक–२ मा १ रोपनी र आधा रोपनी जग्गामा बनेको तीनतले दुईओटा घर छ ।

ओलीको नाममा ४२ लाख रुपैयाँ बैंक ब्यालेन्स छ भने श्रीमती शाक्यका नाममा झापाको पृथ्वीनगरमा १० कट्ठा जग्गा, १८ तोला सुनका गरगहना, १० लाख नगद र राष्ट्रिय बचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ ।

रक्षामन्त्री पोखरेलको सम्पत्ति
रक्षामन्त्री ईश्वर पोखरेलकी पत्नीको नाममा काठमाडौंको टोखा–६ मा २३ आनामा बनेको तीनतले घर, नगरकोटमा १ रोपनी ११ आना जग्गा, धादिङको खानीखोलामा ४ रोपनी जग्गाका साथै ९ तोला सुन र २५ तोला चाँदीको गरगहना एवं विभिन्न बैंकमा १३ लाख ४० हजार नगद छ भने पोखरेलको नाममा झापाको चन्द्रगढीमा १२ कट्ठा जग्गा छ ।

अर्थमन्त्री खतिवडाको सम्पत्ति
सबैभन्दा बढी नगद रहेका अर्थमन्त्री डा. युवराज खतिवडासँग १ करोड २४ लाख ९५ हजार नेपाली रूपैयाँ र ६२ हजार ७०३ अमेरिकी डलर बैंक मौज्दात छ भने काठमाडौं–४ मा ५ आना, भक्तपुरको चाँगुनारायणमा १२ आना जग्गा छ ।

श्रीमती कमला खतिवडाको नाममा काठमाडौं–४ मै १४ आना, चाँगुनारायणमा १२ आना, झापा, गौरादह–९ मा ४ विगाहा ८ कट्ठाका साथै काठमाडौंको कागेश्वरी, दोलखाको जिरी, भापालको गौरादहलगायतका विभिन्न ठाउँमा जग्गा, सुन, चाँदी, गाडी, सेयर आदि पनि छ ।

गृहमन्त्री थापाको सम्पत्ति
गृहमन्त्री रामबहादुर थापाको चितवनमा जग्गा, सुन र ७ लाखजति नगद मौज्दात देखिन्छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको सम्पत्ति
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको काठमाडौंमा एउटा घर, अढाइ लाख नगद र केही सुन रहेको देखाइएको छ ।

ऊर्जामन्त्री पुनको सम्पत्ति
ऊर्जामन्त्री वर्षमान पुनको रोल्पा र दाङमा घरजग्गा देखिन्छ भने साढे १० लाख नगद र १५ तोला सुनलगायतको सम्पत्ति छ ।

सामान्य प्रशासनमन्त्री पण्डितको सम्पत्ति
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि विराटनगर र ललितपुरको भैंसेपाटीमा घरजग्गा, १० तोला सुन, १५ तोला चाँदी र ५५ लाख नगद हुने नेता हुन् ।

पर्यटनमन्त्री अधिकारीको सम्पत्ति
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग ६० तोला सुन र ३० केजी चाँदी छ । यस्तै, पोखरामा साढे १४ रोपनी घडेरी र ९० रोपनी जग्गाका साथै काठमाडौंको बूढानीलकन्ठमा ५ आना जग्गा रहेको छ भने करिब २५ लाख नगद, ३० लाखको सेयर एवं २० लाखको गाडीलगायतको सम्पत्ति छ ।

मन्त्री महासेठ अथाह सम्पत्तिका मालिक
सबैलाई माथ गर्नेगरी अथाह सम्पत्तिका मालिक देखिएका छन्, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ ।

उनी र श्रीमती जुली महतोका नाममा गरी ललितपुर–२५ मा ५८ सय वर्गफिटमा फैलिएको साढे दुईतले घर र छुट्टै ४ रोपनी ४ आना जग्गाका साथै धनुषामा ४२ सय वर्गफिटमा फैलिएको साढे दुईतले घर, मिथिलामा पैत्रिक घर, धनुषामा १० विगाहा जग्गा, ५२ तोला सुन, डेढ किलो चाँदी ४० करोडको सेयरसहितको सम्पत्ति छ ।

शिक्षामन्त्री पोखरेलको सम्पत्ति
यस्तै, शिक्षामन्त्री गिरिराजमणि पोखरेलको महोत्तरीमा एउटा घर र ३ लाख ६७ हजार बैंक ब्यालेन्स छ ।

उद्योगमन्त्री यादवको सम्पत्ति
उद्योगमन्त्री मातृकाप्रसाद यादवको सिरहा र धनुषामा ४५ लाखमा किनिएका दुई घर, एक करोड ३० लाखको जग्गा, १६ तोला सुन र केही नगद छ ।

वनमन्त्री बस्नेतको सम्पत्ति
वनमन्त्री शक्तिबहादुर बस्नेतको जाजरकोटमा एउटा घर, १७ लाख नगद, ७ तोला सुन, १० किलो चाँदी र तीन लाख बढीको सेयर छ ।

कृषिमन्त्री खनालको सम्पत्ति
कृषिमन्त्री चक्रपाणि खनालको कपिलवस्तु र रूपन्देहीमा १५ कट्ठा जग्गा, ६ तोला सुन र श्रीमान्–श्रीमतीका नाममा गरी १५ लाख नगद र १० लाखको सेयर छ ।

खेलकुदमन्त्री सुनारको सम्पत्ति
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारको पोखरामा दुई रोपनी जग्गा, ललितपुरमा जग्गा तथा ५० तोला सुनका साथै परिवारका नाममासमेत गरी २० लाख बैंक ब्यालेन्स छ ।

कानुनमन्त्री तामाङको सम्पत्ति
कानुनमन्त्री शेरबहादुर तामाङको श्रीमतीका नाममासमेत गरी काठमाडौं, गोकर्णेश्वरमा तीन रोपनी जग्गा र घरका साथै सिन्धुपाल्चोक, मोरङ, खोटाङ, काठमाडौंमा १२३ रोपनीभन्दा धेरै जग्गाका एवं ३० तोला सुन, सवा लाख नगद र १५ लाखको सेयर छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टको सम्पत्ति
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग श्रीमती प्रतिमा श्रेष्ठका नाममा काठमाडौंमा एउटा घर र भीमबहादुर विष्टका नाममा गुल्मीमा दुईओटा घर छ । ७ तोला सुन तथा विभिन्न बैंकमा ७ लाख ३२ हजार नगद मौज्दात छ ।

सर्वहारा मन्त्री !
साँच्चिकै सर्वहाराजस्तो देखिनेमा खानेपानीमन्त्री बीना मगर र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा छन्, जसको परिवारका नाममा अत्यन्तै न्यून सम्पत्ति छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्