‘संघीयता कमजोर हुने खतरा’ (भिडियो) • Image Khabar Image Khabar


‘संघीयता कमजोर हुने खतरा’ (भिडियो)


Imagekhabar
१० जेष्ठ २०७५, बिहीबार १६:००

‘संघीयता कमजोर हुने खतरा’ (भिडियो)

सांसदहरुले नीति तथा कार्यक्रम ‘राम्रो सपना’ भएको भन्दै यसको कार्यान्वयनमा जोड दिन सरकारलाई भनेका छन् ।

नीति तथा कार्यक्रममाथि बिहीबार दोस्रो दिनको छलफलमा भाग लिँदै विपक्षी सांसदहरुले सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राष्ट्रपतिले गरेको सम्बोधनमा मर्यादित भाषा प्रयोग नहुँदा सिंगो संसदको अवमूल्यन र अपमान भएको जिकिर गरे ।

उनीहरुले ‘राष्ट्रपतिको सम्बोधन राजसंस्थाताका राजाले संसदमा गर्ने प्रकृतिको’ भएको भन्दै त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै सरकारी उदासीनता देखाएको आरोप लगाएका छन् ।

संसदभन्दा सर्वोच्च निकाय अरु नभएको भन्दै सांसदहरुको प्रतिनिधित्व र नेतृत्व गर्ने सभामुखमाथिको अपमान लोकतान्त्रिक मूल्य र व्यवस्थाविपरीतसमेत भएको तर्क गरे ।

राष्ट्रपति भण्डारीले सोमबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत् गर्नेक्रममा ‘प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष’ भनेर सम्बोधन गरेकी थिइन् ।

विपक्षी दलहरुले भने ‘सम्माननीय’ वा ‘सभामुख महोदय’ भन्नुपर्ने जिकिर गरिरहेका छन् ।

बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नीति तथा कार्यक्रम पेस गर्नेक्रममा राष्ट्रपतिले सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई गरेको सम्बोधन सुधार गर्न माग गरे ।

उनले नीति तथा कार्यक्रम मीठो सपना भएपनि सपना साकार गर्न कुन वर्ष के गर्ने भनेर स्पस्ट नहुनुले कतै सपना पूरा नहुँदा जनतामा थप निराशा आउने त होइन ? भनी प्रश्न गरे ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले नीति तथा कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्र भनेर कहिँ उच्चारण नहुनु, संघीय गणतन्त्र नेपालको सर्वोच्च निकाय संसदका प्रमुखलाई अपमानित गर्नु र संघीयतालाई बलियो बनाउने विषय पनि नसमेटिनुले गम्भीर प्रश्न खडा गरेको टिप्पणी गरे ।

संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठले पनि राष्ट्रपतिले सभामुखलाई गरेको सम्बोधन सच्याउन माग गरे ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्नि सापकोटाले भने नीति तथा कार्यक्रमले मुलुकलाई सही दिशा दिएको भन्दै सुशासन कायम गर्ने र भ्रष्टाचार निर्मुल गर्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले स्थानीय तह र प्रदेशलाई बलियो बनाउने ढंगबाट अब बजेट ल्याउनुपर्ने धारणा राखे ।

नीति तथा कार्यक्रममाथि बिहीबारदेखि राष्ट्रियसभा बैठकमा पनि छलफल सुरु भएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्