
फोटो पत्रकार पूर्णिमा श्रेष्ठले गत जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन् । उनले आरोहणसँगै नयाँ रेकर्ड पनि राखिन्, विश्वको सर्वोच्च शिखरमा फोटो प्रदर्शनीको ।
उनले सगरमाथा आरोहणकैक्रममा आधारशिविरसहित सर्वोच्च शिखरमासमेत ‘नेपाली महिलाहरुको मुस्कानसहितको २५ ओटा तस्वीरहरु’ समेटेर फोटो प्रदर्शनी गरिन् ।
सफल आरोहणपछि राजधानी आइपुगेकी उनीसँग फोटो प्रदर्शनीको अनुभव निकै चाखलाग्दो छ ।
८ हजार १६३ मिटर उचाइ भएको विश्वकै आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहणपछि सगरमाथा आरोहण गर्ने साहस आएको पूर्णिमा बताउँछिन् ।
पूर्णिमामात्र हैन, अरु पाँचजना नेपाली महिला पत्रकारले पनि यही साता सफल सगरमाथा आरोहणको इतिहास रचना गरेका छन् ।
वसन्त ऋतुको सगरमाथा आरोहणको याम सकिनलाग्दा जेठ ९ गते बिहानमात्र सर्वोच्च शिखर चुम्ने चार पत्रकार महिलामा नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ रहेका छन् ।
‘समानताका लागि बुलन्द आवाज’ भन्ने नारासहित पाँच महिला पत्रकारको टोली सगरमाथा आरोहणमा गएकोमा चारजना सफल भएका हुन् ।
यसैगरी, त्यसको एक दिनअघिमात्र अर्थात् ८ गते अर्की महिला पत्रकार डोमा शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेकी छन् । उनले पनि सगरमाथा आरोहण गर्ने पहिलो महिला शेर्पा पत्रकारको रेकर्ड राखेकी छन् ।
प्रसिद्ध आरोही कामीरिता शेर्पाले पनि यही सिजनमा २२औंपटक सगरमाथाको सफल आरोहण गरेर सबैभन्दा बढीपटक सगरमाथा आरोहणको रेकर्ड बनाएका छन् ।
सन् २०१८ को यस सिजनका लागि ३४६ व्यक्ति तथा समूहलाई सगरमाथा आरोहणको अनुमति दिइएकोमा अहिलेसम्म सबैजसोले सफल आरोहण गरिसकेको पर्यटन विभागको प्रारम्भिक तथ्यांक छ ।
यस वर्षको सफल सगरमाथा आरोहणको औपचारिक तथ्यांक आउन भने समय लाग्ने विभागका महानिर्देशक दिनेश भट्टराईले बताए ।
उनकाअनुसार ३४६ व्यक्ति तथा समूहमध्ये २० जना नेपाली छन् र त्यसमा पनि १५ जना त महिला नै छन् । अन्य विदेशी रहेका छन् ।
यस वर्ष सगरमाथा आरोहणका लागि दिइएको अनुमतिबाटमात्रै राज्यले करिब ३७ करोड ८० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
सन् १९५३ बाट सगरमाथा आरोहणको सफल यात्रा सुरु भएको हो । पर्यटन विभागको तथ्यांकअनुसार सुरुदेखि सन् २०१७ को अन्त्यसम्ममा ५ हजार ७३१ जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । यसमध्ये ४९२ जना महिला आरोही छन् ।
प्रतिक्रिया दिनुहोस्