
उदयपुर, जेठ ११ । ठेकेदार कम्पनीको लापरबाही र ढिलासुस्तीका कारण उदयपुरको चौदण्डी नगरपालिकास्थित त्रियुगा नदीमा पुल निर्माण शुरु भएको ८ वर्ष बितिसक्दा पनि पूरा भएको छैन ।
फत्तेपुर, सिवाई, बेलटार र चिसापानी बजार जोड्ने चौदण्डी नगरपालिका–५ त्रियुगा नदीको सिवाईमा २०६७ सालबाट पुल निर्माण सुरु गरिएकोे हो ।
तर, पुल निर्माणको जिम्मा पाएको महालक्ष्मी लोकप्रिय जेभी कन्ट्रक्सनले अहिलेसम्म ४० प्रतिशत काम पनि पूरा गरेको छैन । पुल निर्माणमा सुरुको डिजाईन त्रुटिपूर्ण भएकाले त्यसलाई सच्याउँदा काममा ढिलाइ भएको बताइएको छ ।
त्यसैगरी पिलर निर्माण गर्ने स्थानमा ठूलो रुख भेटिएकाले काट्न समय लागेको र बजेट निकासा नहुँदासमेत ढिलाइ भएको निर्माण सम्बद्ध पक्षले जनाएको छ ।
आर्थिक वर्ष २०६७/६८ बाट शुरु भएको पुल निर्माणको काम २०७०/७१ सम्म सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौताबमोजिमको समय सकिएको ४ वर्ष बितिसक्दा पनि ४० प्रतिशतमात्र काम सम्पन्न भएको छ ।
३०७ मिटर लामो दुई लेनको पुलका १३ वटा पिलरमध्ये ३ वटा निर्माण हुन बाँकी छ । यही गतिमा काम भएमा पुल निर्माण सक्न अझै ८ वर्ष लाग्ने स्थानीयको भनाइ छ ।
९ करोड ७६ लाख रुपैयाँको लागत इस्टिमेट गरिए पनि मूल्य समायोजनका कारण १३ करोडभन्दा माथि पुग्ने प्राविधिकहरु बताउँछन् । सयममै पुल निर्माण नहुँदा वर्षाको समयमा स्थानीयले सास्ती भोग्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्