
काठमाडौं, जेठ ११ । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार…।
नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले माथिका चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै उत्कृष्ट रहेको धारणा व्यक्त गरे ।
संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा शुक्रबार भाग लिदैं उनले भने, ‘सत्ता पक्षले नीति तथा कार्यक्रम राम्रो भन्नु र प्रतिपक्षीले नराम्रो टिप्पणी गर्नु लोकतन्त्रको सुन्दर पक्ष छ ।’
पूर्वसभामुख समेत रहेका सांसद नेम्वाङले निश्चित समयमा देश विकास र आर्थिक समृद्धिको खाका नीति तथा कार्यक्रममा आएको उल्लेख गर्दै निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धता नीति तथा कार्यक्रममा आएको बताए ।
उनले भने, ‘सरकारले नीति तथा कार्यक्रममार्फत सपना देख्नु नराम्रो हो र ? सपना देख्नु अचम्म हो र ? बजेटले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउँछ, संविधान सबैका लागि स्वीकार्य भएको छ, संविधान सहमतिमा नै जारी भएको हो ।’
सांसद नेम्वाङले साझा दस्तावेजका रुपमा संविधान आएको भन्दै समय सापेक्षा रुपमा संविधान संशोधन र परिमार्जन गर्न सकिने बताए । उनले सरकारले (सत्ता पक्ष)ले दम्भ गर्न नहुने चर्चा गर्दै सरकारको कुनै काममा दम्भभन्दा हार्दिकता आउँछ, मिलेर नै लोकतन्त्रलाई संस्थागत विकास गर्ने हो भन्ने धारणा राखे ।
सांसद नेम्वाङले प्रधानमन्त्रीले प्रतिपक्षीलाई मिलेर अगाडि बढ्न पटक-पटक आग्रह गरेको स्मरण गर्दै भने, ‘जनताको भावना, चाहना अनुसार मिलेर निर्वाचनमा बोलेका प्रतिबद्धता पूरा गरौं ।’ (रासस)
प्रतिक्रिया दिनुहोस्