१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘सपना बाँड्नेमात्र काम भयो’


0
Shares

शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताए ।

उनले निश्चित समयमा देश विकास र आर्थिक समृद्धिको खाका नीति तथा कार्यक्रममा आएको भन्दै निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धता नीति तथा कार्यक्रममा समेटिएको बताए ।

सरकारले नीति तथा कार्यक्रममार्फत् ‘सपना देख्नु नराम्रो हो र ?’ भन्ने प्रश्न गर्दै सांसद नेम्वाङले बजेटले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउने दावी गरे ।

बैठकमा नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारको नीति तथा कार्यक्रम ‘सपनामा महल बनाउने खालको’ आएको टिप्पणी गरे ।

उनले भौतिक पूर्वाधार, सामाजिक विकास, पर्यटन, कृषि जलस्रोतजस्ता महत्वपूर्ण क्षेत्रमा नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको आरोप लगाए ।

गच्छदारले योजनासहित विकासका सन्दर्भमा सत्तारुढ दलको प्रतिबद्वता माग गरे ।

यस्तै, नेकपाका सांसद देव गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन नीति तथा कार्यक्रम आएको भन्दै अगामी बजेटमा नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्रराय यादवले नीति तथा कार्यक्रम अतिमहत्वाकांक्षी भएको, सपना बाँड्नेमात्र काम भएको टिप्पणी गरे ।

नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा बैठकमा पनि छलफल भइरहेको छ ।

राष्ट्रियसभा बैठकमा बोल्ने सत्तारुढ दलका सांसदले नीति तथा कार्यक्रमको प्रशंसा गरेका छन् भने विपक्षी दलका सांसदहरुले कडा आलोचना गरेका छन् ।

नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको आइतबार प्रधानमन्त्रीले संसदमा जवाफ दिने कार्यक्रम रहेको छ ।