२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


उफ ! खपिनसक्नु गर्मीः किसान र मजदुरलाई हैरानी


0
Shares

संजय आचार्य/ईमेज:
बर्दिया, जेठ १२ । दिनप्रतिदिन गर्मी बढ्दै गएपछि बर्दियाको जनजीवन प्रभावित बनेको छ ।

केही दिनदेखि तापक्रममा तीव्र वृद्धि भएसँगै जनजीवन प्रभावित भएको हो । गर्मीका कारण अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ ।

गृष्म ऋतुको आगमनसँगै बर्दिया जिल्लामा गर्मीको प्रभाव निकै बढेको छ । अहिले यहाँको तापक्रम झण्डै ३८ डिग्री सेल्सीयस पुगेको छ ।

जतिसुकै गर्मी भएपनि काम नगरे बिहान बेलुका हातमुख जोर्न धौँधौ हुने वर्गका लागि गर्मीले धेरै नै दुख दिएको छ ।

दिउँसोको टन्टलापुर घाममा गर्मीको परवाह नगरी नियमित काम गर्नुपर्ने बाध्यता धेरै मजदूरलाई छ ।

त्यसो त गर्मीको कारण अन्य धेरैको जीवनशैली समेत प्रभावित हुन थालेको छ । धेरैजसो दिउँसोको समयमा हिँडडुल गर्न छाडिसकेका छन् ।

स्थानीयवासीहरु दैनिक उपभोग्य सामन खरिद गर्न समेत विहान बेलुकामात्रै निस्कन निस्कन्छन् ।

प्रायजसो सवारी साधन र मानिसको चहलपहलले भीडभाड भइरहने बर्दियाको सदरमुकाम गुलरियामा पनि दिउँसोको समयमा सडकहरु समेत सुनसान देखिन थालेका छन् ।

घरमा एसी, पंखा चलाएर बस्नेहरुसमेत गर्मीले वाक्कदिक्कभएका छन् त्यहीँ घाममा काम गर्ने मजदूर कति प्रभावित होलान् सहजै अनुमान गर्न सकिन्छ ।

अर्कोतिर गर्मी बढ्दै गइरहेको र पानी कम परेको कारण तरकारी उत्पादन कमी आएपछि किसानहरु चिन्तित देखिएका छन् ।

गर्मीका कारण दिउँसोमा पढाइ हुने केही विद्यालयका बालबालिकाको पढाइ बिहानको समयमा हुन थालेको स्थानीय दुर्गा आचार्यको भनाइ छ ।

उच्च तापक्रमका कारण विभिन्न रोगहरुले समेत आक्रमण गर्न थालिसको स्थानीय बताउँछन् ।

गर्मीबढेसँगै विभिन्न रोगको संक्रमणका कारण अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ ।

रुघाखोकी झाडापखाला स्वासप्रस्वास लगायतका समस्या बोकेर बिरामीहरु अस्पतालमा आउन थालेको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्ड डा सुवास पाण्डे बताउँछन् ।

साथै गर्मीको समयमा अनावश्यक बाहिर ननिस्किने, फलफूल र जुसहरु खाने र पानी प्रशस्त पिउनुपर्ने सुझाव डा.पाण्डेको छ ।

मौसम परिवर्तनसँगै गर्मी हुनु स्वाभाविक नै हो तसर्थ यस्तो समयमा विभिन्न सरुवा र अन्य रोगको पनि प्रकोप बढ्ने हुँदा सबैले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी छ ।