१४ जेष्ठ २०८१, सोमबार | Tue May 28 2024


शैक्षिक योग्यता हासिल गरेका युवाले अब विदेशिनु पर्दैन : अर्थमन्त्री


0
Shares

बनियानी, कात्तिक २४ । अर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

युवा स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको ‘भेटघाट छलफल तथा ब्याज अनुदान वितरण कार्यक्रम’मा बोल्दै अर्थमन्त्री डा. खतिवडाले युवालाई स्वरोजगार बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याएकोसमेत जानकारी दिए ।

‘शैक्षिक योग्यता हासिल गरेका युवाले अब विदेशिनु पर्दैन’–उनले भने–‘योग्यताका आधारमा युवालाई सहुलियत ब्याजदरमा ऋण दिने व्यवस्था मिलाइएको छ ।’

युवालाई व्यवसायी बनाउन सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई रु १० लाख, सीप भएका महिलालाई रु १५ लाख, दलितलाई रु १० लाखलगायतका आधादर्जनभन्दा बढी सहुलियत ब्याजदरमा ऋण दिने व्यवस्था मिलाएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

स्वरोजगार कोषबाट ऋण लिएर धेरै युवा आत्मनिर्भर भएको बताउँदै अर्थमन्त्री खतिवडाले भने–‘गरिबीको रेखामुनि रहेका नेपालीको जीवनस्तर उकास्न स्वरोजगार कोष सहायक बनेको छ ।’

झापामा स्वरोजगार कोषको माध्यमबाट धेरै युवा आत्मनिर्भर भएकामा अर्थमन्त्रीले खुसी व्यक्त गरे ।

स्वरोजगार कोषले उपलब्ध गराउने कर्जा रकम कम भएको सहभागीको गुनासो सुनेपछि अर्थमन्त्री खतिवडाले अनुदानको सस्तो पैसा धेरै उपलब्ध गराउन कठिनाइ हुने उल्लेख गरे ।

‘सरकारको आम्दानी स्रोत भनेको कर हो’–उनले भने–‘धेरै अनुदान दिन धेरै कर उठाउनुपर्ने हुन्छ । कर बढी उठाउँदा सरकार आलोचित हुने अवस्था आउँछ ।’

जनताको पैसा जनतालाई नै वितरण गरिने भएकाले धेरै अनुदानको रकम दिन नसकिने उनले बताए ।

कोषमार्फत् रु दुई लाख उपलब्ध गराउँदै आएकामा अब रकम बढाउने सोचमा सरकार रहेकोसमेत उनले उल्लेख गरे ।

मुलुकमा अझैपनि धेरै नागरिक वित्तीय पहुँचमा नरहेकाले सोको अभिवृद्धि गर्ने उद्देश्यले पनि स्वरोजगार कोषको अवधारणा अघि सारिएको अर्थमन्त्री खतिवडाले बताए ।

सहकारीलाई लगाइएको आयकरको विषयमा उनले ग्रामीण सहकारी करको दायरामा नरहेको स्पस्ट पार्दै नगरपालिका क्षेत्रमा रहेका सहकारीलाई ५ प्रतिशत, उपमहानगर र महानगरपालिकालाई १० प्रतिशत कर लगाइएको उनले बताए ।

कार्यक्रममा स्वरोगार कोषमार्फत् ऋण लिएका ६२ जनालाई ब्याज अनुदान रकम वितरण गरिएको थियो ।

झापामा तीन चरणमा दुई हजार ३०० जना युवाले स्वरोगार कोषमार्फत् रु ३३ करोड ऋण लिएका छन् ।

पहिलो चरणमा कोषमार्फत् रु ८ करोड ८५ लाख ऋण लिएका ८४२ जना युवालाई ब्याज अनुदान रकम प्रदान गरिएको छ ।

कार्यक्रममा युवा स्वरोजगार कोषका उपाध्यक्ष प्रेम दंगाल, सांसद पवित्रा निरौला खरेल, सांसद झलकसिंह दर्लामी, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिल्ला सहकारी संघ झापा अध्यक्ष गणेश ढकाल, बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाइँलगायतले शुभकामना मन्तव्य राखेका थिए । रासस