
ताप्लेजुङ, जेठ १३ । ताप्लेजुङमा अलैँचीका सराको समेत उपयोग गरी स्थानीयले आम्दानी गर्न थालेका छन् । पूर्वी पहाडी क्षेत्रको प्रमुख नगदेबाली अलैंचीको सराबाट व्यवसायीले विभिन्न सामग्री बनाई बिक्री गर्न थालेका छन् ।
अलैँची टिपेपछि यसको सरालाई धेरैले जंगलमा नै छाड्ने गर्दछन् । तर यसलाई उपयोग गर्न जाने यसबाट विभिन्न सामग्री बनाउन सकिन्छ ।
यसबाट उद्योगका लागि आवश्यक कच्चा पदार्थ पनि उपलब्ध हुने र विभिन्न किसिमका सामग्री उत्पादन हुने भएकोले यसलाई उपयोग गर्न थालिएको हो ।
सदरमुकाम फुङलिङकी माया गुरुङले गत दुई वर्षदेखि चन्दन फाइवर उद्योग स्थापना गरी विभिन्न सामग्री उत्पादन गर्दै आएकी छन् । जङ्गलमा त्यत्तिकै खेर जाने सरालाई संकलन गरी उद्योग खोलेपछि ५ जनाले रोजगारीसमेत पाएका छन् ।
पहिले पहिले उत्पादित सामानले बजार नपाउने भए पनि अहिले भने बजारको समस्या नभएको उनको अनुभव छ । साथै यसबाट मासिक रुपमा लाखौँको कारोबार हुने उनी बताउँछिन् ।
अलैँचीका रेसाजन्य सामग्रीको उत्पादन वृद्धि गरी अन्तर्राष्ट्रियस्तरमा पनि बजारीकरण गर्नुपर्ने र त्यो सम्भव पनि भएको व्यवसायीको भनाइ छ । थोरै लगानीबाटै पनि उद्योग खोल्न सके राम्रै आम्दानी लिन सकिने उनीहरुको अनुभव छ ।
ग्रामीण क्षेत्रसम्म आधुनिक प्रविधि र सीप पु¥याउन आवश्यक छ । यस्ता सामग्रीको बढी माग भएमा तालिम तथा प्रविधि हस्तान्तरण गर्न सकिने घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सुनील आचार्यको भनाइ छ ।
अलैँचीका रेसा लगायतका त्यसै खेर जाने वस्तुको उपयोग गर्न सके पक्कै पनि रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ र आम्दानीको राम्रो स्रोत पनि बन्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्