
युवराज रोइला/ईमेज:
खोटाङ, जेठ १३ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा १६ सय बढीले स्वास्थ्य सेवा लिएका छन् ।
आर्थिक, भौगोलिकलगायत अप्ठ्याराका कारण सुविधा सम्पन्न अस्पताल जान नसक्ने सर्वसाधारणलाई लक्षित गरी जिल्ला अस्पतालमा आयोजना गरिएको दुइ दिने निःशुल्क स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, शल्य चिकित्सा, स्त्री तथा प्रसुती रोग, हार्डजोर्नी तथा बाल रोगका १६ सय बिमारीले स्वास्थ्य सेवा लिएको मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डाक्टर धर्मदत्त सुवेदीले जानकारी दिए ।
विभिन्न किसीमका रोगहरुबाट ग्रसित विशेषज्ञ सेवा लिन नसक्ने आर्थिक अवस्था कमजोर भएका नगरवासीहरुलाई नगरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्येश्यका साथ निःशुल्क स्वास्थ्य सेवाको आयोजना गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।
शिविरमा पाठेघर खस्ने समस्या १२० जनामा देखिएको र सोही मध्य गम्भिर प्रकृतिका ३० जनालाई सुविधा सम्पन्न मनमोहन मेमोरियल अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.मनोर दिन सैयदले बताए ।
शिविरमा सामान्य चिकित्सा विशेषज्ञ डा.धर्मदत्त सुवेदी र डा.सुरेन्द्र शाक्य, शल्य चिकित्सा विशेषज्ञ डा.सुमनविक्रम अधिकारी, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.मनोर दिन सैयद, हार्डजोर्नी विशेषज्ञ डा.उज्वन शाक्य तथा बाल रोग विशेषज्ञ डा. पुजा श्रेष्ठसहितको १५ स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिइएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा.रामबहादुर केसीले बताए ।
नगरपालिकाको तीन लाख र मनमोहन मेमोरियल शिक्षण अस्पतालको १० लाख रूपैयाँको औषधि जुटाएर शिविर आयोजना गरिएको हो ।
विशेषज्ञ स्वास्थ्य शिविरमा सबैभन्दा बढी महिलाहरुको पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ग्यास्ट्रीक, हाडजोर्नी लगायतका विमारीहरु आएको मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डाक्टर धर्मदत्त सुवेदीले बताए ।
डा.सुवेदीका अनुसार स्वास्थ्य शिविरमा स्वास्थ्य शिविरमा हाड्रोशिल, हर्निया र गालाको टुयुमर लगाएतको शल्यक्रिया गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्