
काठमाडौं, जेठ १३ । सेवा क्षेत्रको मुख्य आधार मानिएको पर्यटन क्षेत्र विस्तार हुँदै गएको छ ।
यस क्षेत्रको प्रमुख पूर्वाधार मध्येको तारे होटलको संख्या अघिल्लो वर्षको तुलनामा बढेको पाइएको हो ।
संघीय संसद्मा आज अर्थमन्त्रीले पेश गर्नुभएको आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार आलु आवको आठ महिनामा तारा स्तरको होटल संख्या १२५ पुगेको छ । अघिल्लो आव २०७३/७४ मा तारा स्तरको होटल संख्या १२० थियो ।
तारास्तर बाहेकको पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या आव २०७३/७४ सम्म ९४२ रहेकामा चालु आवको प्रथम आठ महिनामा ९७७ पुगेको छ । यही अवधिमा २५१ घरबास कार्यक्रम ‘होमस्टे’ सञ्चालनमा रहेका छन् ।
तारा स्तरका होटलको शय्या संख्या आव २०७३÷७४ मा १० हजार ७७ भएकामा चालु आवको प्रथम आठ महिनासम्ममा १० हजार ६९७ पुगेको छ ।
आर्थिक सर्वेक्षणअनुसार तारा होटलबाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको शय्या संख्या चालु आवको प्रथम आठ महिनासम्ममा २९ हजार १३६ पुगेको छ ।
सोअनुरुप चालु आवको प्रथम आठ महिनासम्ममा पर्यटकस्तरीय होटलको संख्या एक हजार १०२ र शय्या संख्या ३९ हजार ८३३ रहेको छ ।
गत आवमा पाँच क्यासिनो सञ्चालन भएकामा चालु आवको प्रथम आठ महिनामा दुई क्यासिनो थप भई हाल सात क्यासिनो र चार मिनीक्यासिनो सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्