२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


महाकाली नदीमा ४ लेनको पक्की पुलको निर्माण धमाधम (भिडियो)


0
Shares

दुर्गा उपाध्याय/ईमेज:
कञ्चनपुर, जेठ १४ । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुलको निर्माण कार्य समयमै सकिने संकेत देखिएको छ ।

निर्माण कम्पनी र आयोजना प्रमुखले समयमै काम सम्पन्न हुने दाबी गरिरहँदा स्थानीयले समेत कामको गति सन्तोषजनक भएको बताएका छन् ।

कञ्चनपुरको गड्डाचौकीदेखि महाकाली नदीसम्मको ६ किलोमिटर सडकखण्डअन्तर्गत महाकाली नदीमा निर्माणाधीन पक्की पुलको काम समयमै सकिने संकेत देखिएको छ ।

९ महिना अघि सुरु भएको कामको गति हेर्दा समयमै सकिने अनुमान गर्न थालिएको हो ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण भएपछि प्रदेश नम्बर ७ को आर्थिक विकासमा ठूलो टेवा पुग्ने धेरैको अपेक्षा छ ।

३ अर्ब २७ करोड रुपैयाँको लागतमा सम्पन्न हुने पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ९९ करोड ६५ लाख बजेट विनियोजन भइसकेको छ ।

उक्त पुल निर्माण भइसकेपछि भारतको नयाँदिल्लीबाट जोडिने सबैभन्दा नजिकको नाका हुनेछ । दोधारा र चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सम्झौता भारतसँग भइसकेको छ ।

३ वर्षमा पुरा गर्ने लक्ष्य लिएको आयोजनाको निर्माण जिम्मा कुमार सीएसईसी जेभीले लिएको छ ।

निर्माण कम्पनीले हालसम्म पुलको फाउण्डेशन बनाउने, गड्डाचौकीदेखि निर्माणाधीन चार लेनको पुलसम्म ६ किलोमिटर सडकअन्तर्गत पर्ने नहर तथा खोलामा समेत अन्य साना पुलको निर्माण पनि एकसाथ गरिरहेको छ ।

सडक विस्तारका लागि जग्गाको मुआब्जा वितरण भने हुन सकेको छैन ।

जग्गाको मुआब्जा वितरणमा ढिलाई भए पनि पुल निर्माणको अन्य काम लक्ष्यअनुसार भइरहेको महाकाली पुल आायोजना कार्यालय महेन्द्रनगरका प्रमुख प्रदीप भण्डारीले बताए ।

पुल बनेपछि भारतबाट सस्तो मूल्यमा सामान आयात गर्न सकिने र यसले निर्यातमा समेत सहज हुने कञ्चनपुर उद्योग वाणिज्य संघका विशिष्ट सदस्य होम बहादुर कुँवर बताउँछन् ।

स्थानीय वासिन्दा पनि काममा सन्तोषजनक प्रगति भएको अनुभूति गरेका छन् ।

पुलको निर्माणकार्य सम्पन्न भएपछि भारतका विभिन्न औद्योगिक क्षेत्रसँग सिधा सम्बन्ध र सुख्खा बन्दरगाहका लागि समेत कोशेढुंगा सावित हुने निश्चित छ ।

भिडियो