
कार्ल मार्क्स द्विशतवार्षिकी अन्तर्राष्ट्रिय सम्मेलन कमिटीको आयोजनामा विश्वका ११ देशका १५ ओटा कम्युनिस्ट पार्टीका नेताहरु नेपाल आउन लागेका हुन् ।
कार्ल मार्क्स जन्मिएको २०० वर्ष पुगेको तथा कम्युनिस्ट घोषणापत्र लेखिएको १७० वर्ष पुगेको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालले सो सम्मेलन आयोजना गर्न लागेका हुन् ।
यही जेठ १६ र १७ गते काठमाडौंमा हुने सम्मेलनमा चीन, भियतनाम, उत्तर कोरिया र लाओसका सत्तारुढ कम्युनिस्ट पार्टीको सहभागिता रहने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जानकारी दिए ।
साथै, अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, रुस, भारत, जापानलगायतका देशका कम्युनिस्ट पार्टीका नेता सम्मेलनमा सहभागी हुनेछन् ।
एसियामा चीन, उत्तर कोरिया, भियतनाम र लाओसमा कम्युनिस्ट शासन छ ।
सम्मेलनमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रियाकाबारेमा कार्यपत्र प्रस्तुत् गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले ‘आजको मार्क्सवाद र समाजवाद’का विषयमा कार्यपत्र प्रस्तुत् गर्नेछन् ।
सम्मेलनमा प्रत्येक देशका कम्युनिस्ट पार्टीका नेताले आ–आफ्नो देशका अनुभव आदान–प्रदान गर्नेछन् ।
नेपालमा शक्तिशाली कम्युनिस्ट पार्टी गठन भएलगत्तै अन्तर्राष्ट्रिय सम्मेलन हुँदा एकताको सन्देश विश्वभर फैलने पूर्वप्रधानमन्त्री नेपालले बताए ।
प्रतिक्रिया दिनुहोस्