
वैशाख १२ को विनाशकारी भूकम्पले संग्रहालयमा क्षति पुगेपछि घटेको आगन्तुकको संख्या बढाउन अहिलेपनि चुनौती रहेको छ ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले स्वदेशी तथा विदेशी हातहतियार संकलन गराइराख्न शास्त्रागारकारुपमा वि.सं. १८८१ मा युरोपेली वास्तुशैलीमा यो संग्रहालयको निर्माण गरेका थिए ।
हातहतियार जम्मा गरिएकाले सुरुमा यसलाई ‘सिलखाना’ भनिन्थ्यो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको युरोप यात्रापछि उक्त सिलखानालाई निजी ग्यालरीकारुपमा विकास गरी राणा परिवार तथा विदेशी पाहुनाहरुका लागिमात्र देखाउने गरियो ।
वि.सं. १९९५ साल फागुन १ गतेबाट उक्त सिलाखानालाई ‘नेपाल म्युजियम’ नाम राखी सर्वसाधरणका लागि सःशुल्क खुला गरियो ।
वि.सं २०२४ सालदेखि ‘नेपाल म्युजियम’बाट नाम परिवर्तन गरी ‘राष्ट्रिय संग्रहालय’ राखियो । हालसम्म यस संग्रहालयमा १८ हजार ऐतिहासिक सामग्रीहरु रहेका छन् ।
जसमा चित्रकला, काष्ठकला, धातुकला, मूर्तिकला, प्राचीन हातहतियार, वस्त्र, सिक्का तथा प्राचीन राजाहरुले प्रयोग गर्ने सामग्रीलगायत छन् ।
संग्रहालयमा रहेका मुख्य तीन भवन जुद्ध जातीय कलाशास्त्र, बुद्ध कलाशास्त्र र ऐतिहासिक संग्रहालय भवन रहेका छन्
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले सोमबार संग्रहालयको भ्रमण गर्दै यसको उचित व्यवस्थापन गरी अवलोकन गर्नेहरुको संख्या बढाउनेतर्फ ध्यान दिन आग्रह गरे ।
मन्त्री अधिकारीले नेपाल राष्ट्रिय संग्रहालय र नारायणहिटी दरबार संग्रहालयमात्र केन्द्रको अधिनमा रहने पनि बताए ।
उनले पाटन संग्रहालय, हनुमानढोका दरबार संग्रहालयलगायतका संग्रहालयहरुलाई स्थानीय तहमा नै हस्तान्तरण गरिने बताए ।
सो अवसरमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले संग्रहालयको आम्दानी बढाउन र अवलोकन गर्नेको संख्या बढाउनुपर्ने बताए ।
भूकम्पले क्षति पुर्याएका भवनहरुको पुनःनिर्माणको काम पनि जारी रहेको छ । हालसम्म ६० प्रतिशत पुनःनिर्माणको काम सकिइसकेको छ ।
नेपालबाट चोरी भइ विदेश पुगेका विभिन्न पुरातात्विक महत्वका वस्तुहरु पनि यस संग्रहालयमा रहेका छन् ।
संग्रहालयले यस आर्थिक वर्षमा १२ लाख २१ हजार ३६५ रुपैयाँ राजश्वसमेत संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्