
आफ्नो नेतृत्वको सरकारका १०० दिनका उपलब्धि र भावी योजनबारे सोमबार भिडियो सन्देश दिँदै उनले नयाँ आर्थिक वर्षको सुरुदेखि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक हिसाबले ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपनालाई साकार पार्ने संकल्प पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्–‘यो सरकार लोकप्रियताका लागि काम गर्दैन, बरु काम गरेर लोकप्रिय हुन्छ, पहिलो १०० दिनका आफ्ना अनुभवका आधारमा विकास र समृद्धिको यात्रामा मुलुकलाई अघि बढाइनेछ ।’
उनले यस अवधिमा सार्वजनिक यातायात क्षेत्रको डरलाग्दो एकाधिकार तोडिएको, सुन तस्करीविरुद्ध निर्मम कारबाही प्रारम्भ भएको, ठूला परियोजना ओगटेर बस्नेमाँझ कारबाही सुरु भएको र रोजगारीको अभावमा काम खोज्न विदेशिन बाध्य नेपालीमाथिको ठगी गर्नेमाथि कठोर कारबाही सुरु भएको सन्देशमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले केरुङ–काठमाडौं–लुम्बिनी तथा काठमाडौं–वीरगन्ज रेलमार्गको चाँडै सर्वेक्षण गरिने बताउँदै ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास, भारतसँग समानताका आधारमा सम्बन्धनको थालनी, अनावश्यक विदेश भ्रमण र सार्वजनिक बिदामा कटौती, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २१ घन्टे सन्चालन, विराटनगरस्थित भारतीय स्थल कार्यालय हट्नुलगायतलाई सरकारका १०० दिनका उपलब्धिमा उल्लेख गरेका छन् ।
सार्वजनिक बिदा कटौतीबाट कुल एक करोड ९२ लाख कार्य दिन नाफामा जाने भएकाले विकासमा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले भने–‘पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाउनेछु, समृद्ध र सुखी नेपाल बनाएर छाड्नेछु ।’ रासस
प्रतिक्रिया दिनुहोस्