
ध्रुव भट्टराई
विराटनगर, कात्तिक २४ । मोरङको सुनवर्षी नगरपालिका–१ स्थित मरीया बक्राहा खोलामा निर्माणाधीन पुल तीन वर्षदेखि अलपत्र बनेको छ ।
पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको पुल गत असारमै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ३० प्रतिशत काम गरेर ठेकेदार बेपत्ता हुँदा पुल अलपत्र बनेको हो ।
अमरदह, जोगिधाप, केचना लगायतका दर्जन बढी गाउँलाई जोड्ने मरीया बक्राहा खोलाको पुल निर्माणमा आलटाल भइरहेको छ । २०७३ साल असारमा ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले गत असारमै पुलको निर्माण गर्नुपर्ने हो । तर पुल बन्नु त कहाँ हो कहाँ, पुल निर्माणको काम नै ठप्पजस्तै छ । ४ करोड ९१ लाख २ हजारमा ठेक्का लिएको पप्पुलाई एक करोड ७३ लाख रकम भुक्तानी गरिएको छ ।
यता, सुनवर्षी नगरपालिका–१ का वडाध्यक्ष टेकनाथ भट्टराई भने आफूहरुले पहल गरिरहे पनि बजेटकको बहाना बनाएर ठेकेदार कम्पनीले काममा आलटाल गरिरहेको बताउँछन् ।
पुल निर्माणको मुख्य ठेकेदार अहिलेसम्म निर्माणस्थलमा आएका छैनन् । कामदारहरुसँग छिटो काम सम्पन्न गर्न आग्रह गरे पनि आलटाल गरिरहेको स्थानीयको भनाइ छ ।
समयमा निर्माण सम्पन्न नहँुदा भएको बाटो पनि बिग्रिएको छ । साथै वारपार गर्नसमेत समस्या भइरहेको छ । पुलको सुविधा नहुँदा वडा कार्यालय जान अर्को वडा हुँदै जानुपरेको स्थानीयको गुनासो छ ।
एउटा पुल समयमा नबन्दा दैनिकजसो धेरैजनाले सास्ती र समस्या बेहोर्नुपरेको छ ।
प्रतिक्रिया दिनुहोस्