
सार्वजनिक गरिएको सम्पति विवरणअनुसार सबैभन्दा गरिब मुख्यमन्त्री त्रिलोचन भट्ट देखिएका छन् ।
मुख्यमन्त्री भट्टको सम्पतिमा ७० हजार रुपैयाँ बैंकमा, मोबाइल एकथान, एक तोला सुन र १५ तोला चाँदी रहेको छ ।
डोटीको केआइ सिंह गाउँपालिका वडा नम्बर–६ मा रहेको घर र १८ रोपनी जग्गा मुख्यमन्त्रीका दाजु शालिग्राम भट्टको नाममा रहेको छ भने सोही ठाउँमा अढाइ रोपनी जग्गा श्रीमती दुर्गादेवी भट्टको नाममा रहेको छ ।
मुख्यमन्त्री भट्टको एक लाख ४० हजार रुपैयाँ वित्तीय ऋण र दुई लाख रुपैयाँ व्यक्तिगत ऋण रहेको सार्वजनिक गरेको सम्पति विवरणमा उल्लेख छ ।
सबैभन्दा धनी आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा
प्रदेश नम्बर–७ को मन्त्रिमन्डलमा सबैभन्दा धनी आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा देखिएका छन् ।
उनको काठमाडौं, टीकापुर, गोदावरी नगरपालिका र धनगढीमा पत्नी, छोरा र आफ्नै नाममा जग्गा–जमिन रहेको छ ।
उनको नाममा तीनओटा जीपकार तथा ४० तोला सुन र विभिन्न कम्पनीको सेयरमात्रै साढे सात करोड रुपैयाँ हाराहारी रहेको छ ।
मन्त्री बोहराको वित्तीय संस्थाहरुमा झन्डै २० करोड रुपैयाँको हाराहारीमा ऋण रहेको देखिएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहको सम्पत्ति
प्रदेश–७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहसँग पनि अरु मन्त्रीहरुकोभन्दा बढी नै सम्पति रहेको छ ।
उनको काठमाडौं, कैलाली, कन्चनपुरका साथै बाजुरामा दाजु र श्रीमतीका नाममा जग्गा र घर रहेको छ । उनीसग सुनमात्रै ५२ तोला रहेको छ ।
सामाजिक विकासमन्त्री दीर्घ सोडारीको सम्पत्ति
जग्गा–जमिन आफ्नो नाममा नभएपनि सामाजिक विकासमन्त्री दीर्घ सोडारी पनि धनी मन्त्रीकारुपमा देखिएका छन् ।
बैंक मौज्दात ५ लाख ६० हजार रहेको सोडारीको परिवारसँग कैलालीको गौरीगंगा, धनगढी, र अछाममासमेत गरी ६ ओटा घर र तराईमा डेढ विगाहा तथा अछाममा ८ रोपनी जग्गा रहेको छ ।
भौतिक योजनामन्त्री पठानसिंह बोहराको सम्पत्ति
प्रदेश–७ का भौतिक योजनामन्त्री पठानसिंह बोहराको परिवारसँग डडेल्धुराको परशुराम नगरपालिकामा करिब ३० रोपनी जग्गा, दुईओटा घर, ४ तोला सुन, दुई लाख ६४ हजार रुपैयाँ बैंकमा मौज्दात रहेको सम्पति विवरणमा उल्लेख गरिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टको सम्पत्ति
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टसँग बैतडीको दशरथचन्द–५ मा १ रोपनी जग्गा र १ घर तथा बैंक मौज्दात ५ लाख रुपैयाँ तथा १५ तोला सुन रहेको छ भने वित्तीय संस्थामा २५ लाख रुपैयाँमा ऋण देखिएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीको सम्पत्ति
प्रदेश–७ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीको श्रीमान्को नाममा १ विगाहा ४ कट्ठा जमिन छ भने बैंकमा ५० हजार मौज्दात र ७ तोला सुन रहेको पेस गरिएको सम्पति विवरणमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्