मुलुकका सात स्थानमा सुरुङमार्ग निर्माण गरिने • Image Khabar Image Khabar


मुलुकका सात स्थानमा सुरुङमार्ग निर्माण गरिने


Imagekhabar
१५ जेष्ठ २०७५, मंगलवार २१:५६

मुलुकका सात स्थानमा सुरुङमार्ग निर्माण गरिने

संघीय संसदको संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो ।

भौगोलिक बनावट तथा अन्य जटिलताका कारण यातायात सन्चालनमा भइरहेको कठिनाइलाई सहज तुल्याउन आगामी आवमा पृथ्वी राजमार्गको नौबिसे–नागढुंगा खन्डमा सुरुङमार्ग निर्माण आरम्भ गरिने बजेटमा उल्लेख गरिएको छ ।

सो सुरुङमार्ग निर्माणमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ ।

यस्तै, काठमाडौंलाई नुवाकोटसँग जोड्न टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने लक्ष्य सरकारले राखेको छ ।

यस्तै, बुटवल–सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखन्डको सिद्धबाबा खन्डमा पनि सुरुङमार्ग निर्माण गरिने भएको छ ।

अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी खन्ड, बीपी लोकमार्गको खुर्कोट–चियाबारी, बीपीनगर–खुटिया–दीपायल खन्ड र गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ खन्डमा सुरुङमार्ग निर्माणका लागि सर्वेक्षण गरी आवश्यक निर्माण प्रक्रिया सुरु गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, जटिल प्रकारका सुरुङ निर्माणका प्रयोग हुने उच्च प्रविधिका सुरुङ खन्ने मेसिन भारी निर्माण उपरकण, एवं पूर्वाधार निर्माणमा प्रयोग हुने अन्य उपकरणसम्बन्धी सेवा उपलब्ध गराउन र ठूला आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत् डिजाइन एवं निर्माणकोसमेत काम गर्न निजी क्षेत्रकोसमेत संलग्नताका पूर्वाधार निर्माण तथा परामर्श कम्पनी स्थापना गर्ने सरकारको तयारी छ ।

पर्यटकीय सम्भाव्यस्थल आसपास निर्माण हुने राजमार्गका पुलहरु कलात्मक बनाउन तथा रणनीतिक पुल निर्माण सम्पन्न गरी यातायात सन्चालन गर्न रु पाँच अर्ब २४ करोड ७६ लाख बजेट विनियोजन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्